Shittalpati
असार पन्ध्र : धान दिवस र दहि चिउरा खाने दिन

सीमा भट्टराई
पाल्पा,
मानो छरेर मुरी उब्जाउने महिना  अर्थात् असार १५ गतेका दिन आज देशभर राष्ट्रिय धान दिवस मनाइदैंछ । रोपाई जात्रा, हिलो खेल्ने, दहीच्युरा खाने जस्ता नामले पनि असार १५ गतेलाई धुमधामका साथ मनाउने गरिन्छ ।

 विक्रम संम्वत २०६१ मा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गर्न अनुरोध गरेका थिए । राष्ट्रसंघले धान वर्ष घोषणा गरेपछि नेपालमा विक्रम संवत् २०६२ असार १५ गतेदेखि धान दिवस मनाउन थालिएको विज्ञहरुको भनाई छ । पछिल्लो समय पाल्पासहित देशभरका स्थानमा असार पन्ध्र धुमधामका साथ मनाउने गरिन्छ । विभिन्न संघ संस्थाले असार पन्ध्रको अवसर पारेर आज धान रोपाई र दही चिउरा खाने कार्यक्रमको आयोजना गरेका छन् ।

असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रुपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् । मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् ।

कामको चटारोले थकित भएका किसान शक्तिप्राप्तिका लागि दही चिउरा खान्छन् । दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । कुनै बेला असार लागेसँगै असारे गीतहरु गुञ्जायमान हुने पाल्पा र गुल्मीका फाँटहरुमा पछिल्लो समय धान रोपाइँमा देखिने मौलिक गीत गाउने संस्कृति भने हराउँदै गएको छ । परम्परागत कृषि प्रणाली हराउदै जाँदा रोपाइँको रौनक नै हराउदै गएको हो । केही वर्ष अघिसम्म वर्षायाम सुरु भएसंगै हलो, जुवा, हलगोरु, बाउसे र रोपाहारहरु खेतमा हुँदा रोपाइँको चहलपहल रहे पनि अहिले यो विस्तारै हराउँदै गएको हो । बढ्दो आधुनिकीकरण र युवा पुस्ता विदेश पलायन भएपछि खेतमा धान रोपाइँका लागि हलोजुवा, हल,गोरु र बाउसेको अभाव देखिएको किसानहरु बताउँछन् । छङ्छङ् बगेको वर्षे भेल, खोल्साखाल्सी सुसाएर निस्केको आवाज, छहरा पहराको हरियालीले रोपाँइको समय सम्झाउँछ । असारे भाका ठाउँ र समुदायअनुसार फरक फरक लयमा गाइने भए पनि सबै गीतले किसानको मर्म पोख्छ ।

प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update