पाल्पा, जिल्लाको रामपुर नगरपालिका–३ स्थित बोटे गाउँमा खानेपानी पुगेको छ । वर्षौदेखि खानेपानीको अभाव झेल्दै आएको बोटे गाउँमा खानेपानीको धारा झरेसँगै सहज भएको छ । गण्डकीढीक बोटेगाउँ खानेपानी आयोजना मार्फत यहाँ खानेपानी पुगेको हो ।
११ लाख ७६ हजार ८ सयको लागतमा टंकी र १० वटा धारा निर्माण कार्य सकिएको छ । रामपुर नगरपालिकाको १० लाख र जनसहभागिता मार्फत १ लाख ७६ हजार ८ लागतमा आयोजना सकिएको हो । आयोजना सकिएसँगै बर्षौँदेखि पिठ्युमा पानी बोकेर दिनचर्य गर्दै आएका यहाँका नागरिकको पानी बोक्नु पर्ने बाध्यता हटेको छ । गाउँमा खानेपानी आयोजना सम्पन्न भएर आगनमै पानीको धारा झर्न थालेपछि नागरिकलाई घण्टौं लगाएर पानी बोक्नुपर्ने बाध्यता हटेको हो । आयोजनाको रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले धारा खोलेर उद्घाटन गरेका हुन् । धाराको उद्घाटन गर्दै नगरप्रमुख थापाले खानेपानी घरमा पुगेसँगै खानेपानी खाना पाउने नागरिकको मौलिक हकको सुनिश्चितता भएको बताए । उनले जनताको आवश्यकतालाई केन्द्रमा राखेर नगरको योजना सञ्चालन गरिएको बताए । नगर प्रमुख थापाले नगरवासीलाई आवश्यक खानेपानी, विद्युत, स्वास्थ्य र शिक्षा नगरवासीको अपरिहार्य आवश्यकता भएको भन्दै सोही आवश्यकता परिपूर्तिका लागि प्रतिबद्ध भएर लागेको बताए ।
उनले थोरै बजेट र छोटो समयमा छिटो काम सम्पन्न गरेकोमा उपभोक्ता समितिलाई धन्यवाद दिंदै यसको दिगोपनाका लागि सबै उपभोक्ता लाग्न आग्रह गरे । नगर प्रमुख थापाले नगरपालिकाले एक घर एक धाराको अभियानलाई अगाडि सारेको बताउँदै यसका लागि आवश्यक बजेट विनियोजन गर्ने बताए । नगर प्रवक्ता तथा १ का वडा अध्यक्ष कपिलबहादुर खाँणले सहज रुपमा स्वच्छ खानेपानी पिउन पाउनु नागरिकको नैसर्गिक अधिकार भएको भन्दै यसका लागि नगरपालिका प्रतिबद्ध रहेको धारणा व्यक्त गरे । ३ का वडा अध्यक्ष दामोदर पाठकले वडावासीको आधारभूत आवश्यकता पुरा गर्नका वडा र नगरपालिकासँगै सबै तह बिचको समन्व्य आवश्यक पर्ने बताए । नेपाली काँग्रेस रामपुरका नगर सभापति नेत्रप्रसाद भट्टराईले जनताको आधारभूत आवश्यकता पूरा गरी नगरको विकासको लागि कुनै आग्रह पूर्वाग्रह विना सबै लाग्नुपर्ने बताए ।
कार्यक्रममा रामपुर नगरपालिका सल्लहाकार उमनाथ अर्याल, ३ का पूर्व वडा अध्यक्ष दिनेशकुमार खनाल, नेपाली काँग्रेस रामपुर–३ का वडा सभापति प्रकाश ज्ञवाली, समाजसेवी बोधराज सुवेदी लगायतले रामपुर नगरपालिकाको सहयोग र स्थानीयवासीको सक्रियतामा खानेपानी योजना सम्पन्न भएसंगै यसको संरक्षण र दिगोपनाका लागि उपभोक्ताले ध्यान दिनुपर्नेमा बताए । यहाँ निस्दी खोला किनारमा ५ हजार लिटर बराबरको रिजर्व टंकीबाट २७ हजार लिटर क्षमताको टंकीमा लिफ्टिङ गरी गाँउमा १० वटा धारामार्फत खानेपानी वितरण गरिएको उपभोक्ता समितिका अध्यक्ष केशव बोटेले बताए । उद्घाटन कार्यक्रम समितिका अध्यक्ष बोटेको अध्यक्षता, सदस्य तारा बोटेको स्वागत, सीता माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद खनालको सञ्चालनमा कार्यक्रम भएको थियो ।