लुम्बिनी, रुपन्देहीको गैडहवा गाउँपालिकामा भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) वितरण गरिएको छ । गाउँपालिकाको वडा नं ६, ७ र ८ का करिब पाँच सय ९४ जग्गाधनीलाई जोतभोगका आधारमा गाउँ ब्लक जग्गाको पुर्जा वितरण गरिएको हो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीले बिहीबार जग्गाधनी पुर्जा वितरण गरे । त्यस अवसरमा मन्त्री श्रेष्ठले सरकारले नापजाँच गर्न छुटेका गाउँ ब्लक तथा सुकुम्बासीका जग्गा नापजाँच गरेर वर्षौँदेखि जोतभोग गर्दै आएका स्थानीयलाई लालपुर्जा वितरणकार्य प्राथमिकतामा राखेको बताए । उनले सामाजिक तथा आर्थिकरूपमा पिछडिएका भूमिहीन सुकुम्बासी र दलित, अव्यवस्थित वसोबास, सीमान्तकृत वर्ग र समुदायको भूमिमा अधिकार र पहुँच स्थापित गर्ने, महिलाको भूमिमा समान अधिकार स्थापित गर्ने बताए ।
रुपन्देही क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरेले भूमिहीन सुकुम्बासी र अव्यवस्थित वसोबासीको व्यवस्थापनका लागि स्थानीय सरकारको सक्रियता सराहनीय रहेको बताए । उनले भूमिहीनबाट सरकारले लिने राजस्व चर्को भएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले पुस्तौँदेखि जमिनको भोगचलन गर्दै आएकाहरू पुर्जा नहुँदा समस्यामा परेको गुनासो आएपछि तत्काल यसका लागि आफूहरूले पहल गरेको बताए । भोगचलन गरेको ६३ वर्षपछि लालपुर्जा पाउँदा स्थानीय निकै खुशी भएका छन् । पुर्जा नहुँदा उनीहरूले व्यक्तिगत काम, बैंकबाट ऋण लिने, धितो राख्ने, बेचबिखन गर्न, अंशबण्डा गर्नसमेत बञ्चित थिए ।
यस्तै गैडहवा गाउँपालिका र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत रहेको नापी विभाग रुपन्देहीको सहकार्यमा गाउँपालिकाको वडा नं ८ बाट पुनः नापजाँच सुरु भएको छ । जग्गा आवासका लागि योग्य भएको सबैजसो जग्गामा अहिले पुरानो बस्ती बसिरहेको जग्गाको नापजाँच गर्ने, श्रेस्ता तयार गर्ने र जग्गाधनी प्रमाण पुर्जा वितरण गर्ने गरी तीव्ररूपमा काम गरिने गाउँपालिका अध्यक्ष पौडेलले बताए । –रासस