Shittalpati
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ पाल्पाको अध्यक्षमा बस्याल

पाल्पा, जिल्लाका होटल तथा रेष्टुरेण्ट व्यवसायीहरुको छाता संगठन पाल्पा होटल तथा रेष्टुरेन्ट व्यवसायी संघमा नयाँ नेतृत्व आएको छ । संघको तानसेनमा भएको चौथो साधारण सभा एवं दोस्रो अधिवेशले नयाँ नेतृत्व चयन गरेको हो ।

जसको अध्यक्षमा लक्ष्मण बस्याल निर्विरोध निर्वाचित भएका छन् । अन्नपूर्ण गार्डेनका सञ्चालक समेत रहेका बस्याल यस अघि संघको महासचिव पदमा रहेर कुुसलतापूर्ण जिम्मेवारी निर्वाह गरेका थिए । संघको महासचिव हुँदा राम्रै जिम्मेवारी पुरा गरेका कारण उनलाई अहिले संघले अध्यक्षको जिम्मेवारी दिएको हो । अधिवेशनले संघको वरिष्ठ उपाध्यक्षमा अशोक थापा, उपाध्यक्षमा शुसिल नेपाल, महिला उपाध्यक्षमा रञ्जना अर्याल, महासचिवमा जयराम सापकोटा, सचिवमा धिरेन्द्र प्रधान, कोषाध्यक्षमा अमन श्रेष्ठ र सह कोषाध्यक्षमा मुकेश जिसीलाई चयन गरेको छ । यस्तै सदस्यहरुमा मणिकान्त न्यौपाने, अशोक महर्जन, रविन्द्र बज्राचार्य, श्रवण कुमार श्रेष्ठ, शोभा भट्टराई, राम प्रसाद खनाल, टंकनाथ घिमिरे, माधवप्रसाद पाण्डे, विष्णु अधिकारी र कमलप्रसाद पाण्डे रहेको नवनिर्वाचित महासचिव जयराम सापकोटाले जानकारी दिए । अधिवेशनको लुम्बिनी प्रदेशका  सांसद तथा पूर्वमन्त्री वीरबहादुर रानाले उद्घाटन गरेका हुन् । सभाको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेका रानाले जिल्लाका होटल तथा रेष्टुरेण्ट व्यवसायीहरुको हकहितमा शसक्त ढंगले लाग्न नयाँ नेतृत्वलाई आग्रह गरे । उनले सरकारले सबैका काम गर्न सक्दैन तर सबैका कुरा सुनेर व्यवसायीहरुलाई काम गर्ने वातावरण सिर्जना गर्न भने सक्ने बताए । सांसद् रानाले आन्तरिक पर्यटन भिœयाउने दिशामा सोच्न संघलाई आग्रह गरे । 

कार्यक्रमका विशिष्ट अतिथि जिल्ला समन्वय समिति  पाल्पाका प्रमुख टंकनाथ खनालले पाल्पा आउने पर्यटकहरुको जानकारीका लागि ठाउँ–ठाउँमा होडिङ बोर्ड राख्ने कुरामा ध्यान दिन संघलाई आग्रह गरे । उनले भने ‘पाल्पामा आउने पर्यटकहरुलाई कहाँ कस्तो होटल छ र कुन होटल कहाँ छ भन्ने कुरा सहजै थाहा पाउनका लागि होडिङ बोर्ड राख्न आवश्यक छ, त्यसतर्फ संघले ध्यान दिनुपर्छ ।’ प्रमुख जिल्ला अधिकारी बन्दुप्रसाद बास्तोताले सम्पुर्ण व्यवसाय अनिवार्य रुपमा दर्ता गरेर मात्र सञ्चालन गर्नुपर्ने र त्यसो नगरेको पाइएमा कानुन अनुसार कारवाही हुन सक्ने बताए । उनले भने ‘व्यवसायमा लगानी गरेको छु भनेर मात्र नहुने र लगानी गर्नेले व्यवसायबाट आम्दानी लिन रात दिन नभनेर खट्नुपर्ने अवस्था रहेको छ ।’

कार्यक्रममा नेपाली काँग्रेसका पाल्पाका कार्यवाक सभापति झपेन्द्र गैरे, नेकपा एमालेका जिल्ला अध्यक्ष धनेन्द्रराज घिमिरे, नेकपा माओवादीका जिल्ला सचिव मथुरा ढकाल, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सचिव सुमन गैरे, राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष डुलबहादुर कुँवर, नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष कमल पाण्डे, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष विशाल दर्लामी, तिनाउ गाउँपालिका अध्यक्ष, प्रेम श्रेष्ठ, उद्योग वाविज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराई, पाल्पा व्यापार संघका अध्यक्ष वामदेव बस्याल, मदिरा व्यवसायी संघका अध्यक्ष लक्ष्मण रेग्मी, करदाता सेवा कार्यालय पाल्पा की कर अधिकृत गीता पाण्डे, होटल व्यवसायी संघका कानुनी सल्लाकार शिवप्रसाद देवकोटा लगायतले अधिवेशन सफलताको शुभकामना व्यक्त गरे ।  कार्यक्रममा कोषाध्यक्ष अशोक महर्जनले संघको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।  अधिवेशनको उद्घाटन सत्र संघका अध्यक्ष मोहन प्रसाद श्रेष्ठको अध्यक्षता, महिला उपाध्यक्ष रञ्जना अर्यालकरुो स्वागत, उपाध्यक्ष जयराम सापकोटाको धन्यवाद ज्ञापन, महासचिव लक्ष्मण बस्यालको सञ्चालनमा भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update