Shittalpati
सहकारी दिवसको सन्दर्भ

प्रत्येक वर्ष जुलाई महिनाको पहिलो शनिबारका दिन विश्वभर अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइन्छ । आज पनि विश्वभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । अन्तर्राष्ट्रिय सहकारी महासंघले सन् १९२३ देखि नियमितरूपमा यो दिवस मनाउँदै आएको छ । आर्थिक–सामाजिक क्षेत्रमा सहकारीले पुर्‍याएको योगदानलाई दृष्टिगत गरी संयुक्त राष्ट्रसंघले १९९२ डिसेम्बर १६ को ८९ औं पूर्णबैठकबाट अन्तर्राष्ट्रिय सहकारी महासंघ स्थापना भएको सय वर्ष पूरा भएको अवसर पारेर सन् १९९५ देखि यो दिवस मनाउने निर्णय गरेको हो । नेपालमा पहिलो पटक विसं २०१३ साल चैत्र २० गते चितवनमा सहकारी संस्थाको स्थापना भएको थियो । बखान ऋण सहकारीको नामले परिचित रहेको उक्त संस्था स्थापित गर्नमा सहकारीका पिता भनेर पनि चिनिने बखानसिंह गुरूङको अहम् भूमिका रहेको मानिन्छ । त्यसै दिनलाई स्मरण गरेर आज देशव्यापीरुपमा नै राष्ट्रिय सहकारी दिवस मनाइँदैछ । हाल देशभर झण्डै ३० हजार भन्दा बढी सहकारी संस्थाहरु रहेको पाइन्छ । विश्वभर भने तीस लाखभन्दा बढी सहकारी संस्थाहरु रेकर्डमा रहेका छन् । देशभरको कुल रोजगारीलाई हेर्दा सहकारी क्षेत्रले १० प्रतिशत रोजगारी उपलब्ध गराउन पुगेको छ ।

सहकारीको उद्देश्य बचत, सापट र जोखिम न्यूनिकरणका लागि बिमा हो । सहकारी संस्थाको सञ्चालन स्थानीय तहको कार्यक्षेत्रभित्र रहेको वर्तमान अवस्थामा बढ्दो संख्याको सहकारी संस्थालाई व्यवस्थित सञ्चालनका लागि सहकारी ऐनलाई परिमार्जन गरी समयानुकूल बनाउनुपर्ने देखिन्छ । सहकारी क्षेत्रमा देशको ठूलो अर्थतन्त्रको हिस्सा रहेको भएपनि संघीय र स्थानीय निकायबाट सहकारी क्षेत्रका सवाललाई कसरी सम्बोधन गरिने हो भन्ने हालसम्म प्रस्ट हुन सकेको छैन । देशको वित्तीय प्रणालीलाई नै सबल र सशक्त बनाउन अहम् भूमिका खेलिरहेको सहकारीको दायित्वलाई कम आकलन गर्न नसकिए पनि संस्थागतरुपमा हुनुपर्ने प्रभावकारी अनुगमनमा भने प्रभावकारिता अपेक्षित देखिन्छ । समाजका हरेक समुदाय र वर्गलाई राहतको कारण बनिरहेको सहकारी अभियानलाई अझ संरक्षणसँगै प्रवद्र्धन गर्नुपर्ने आवश्यकता समेत छ । सहकारीलाई यतिखेर राज्यले कानुनी दायरामा समेत ल्याउनुपर्ने आवश्यकता छ, ताँकी आर्थिक अपारदर्शिताले बढवा पाउन नसकोस् । यसर्थ यस वर्षको सहकारी दिवसले सहकारीलाई थप सशक्त बनाउने दिशामा भूमिका खेल्न सके मात्र दिवस मनाउनुले साथर्कता प्राप्त गर्न सक्छ ।

प्रकाशित मिति: शनिबार, असार १६, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update