पाल्पा,
‘असारको बेला जानुपर्ने मेला, पानी पर्यो दर्केर’
‘असारमा खाने दुधिला मकै साउनमा खाने खिर’
घरमा छैन शितलु वचन, मनमा छैन थिर ।
‘असारे मासको दलदले हिरो छुनलाई घिन लाग्यो,
पातली नानीलाई फरिया किन्दा छ बिस ऋण लाग्यो’
यी गीतका हरफ अब रोपाइँका बेला खेतका गह्रामा रोपाहारका मुखबाट सुनिन छाडेका छन् । आजकल असारे गीत असार महिनामा पनि विरलै सुनिन्छन् । पाल्पामा असार १५ राष्ट्रिय धान मनाइए पनि असारमा गाइने मौलिक भाका भने कमै सुनिए । पहिले पहिले खेतीपातीको सुरुवातको काम नाचगानसहित उत्सवका साथ थालियो भने उब्जनी राम्रो हुने जनविश्वास थियो । त्यसैले पनि पहिले नाँचगानका साथ असारे गीत गाउँदै रोपाइँ गर्ने चलन थियो । तर, अहिले रोपाइँ गर्दा हिलोमा हिन्दी गीतमा टिकटक बनाउन थालिएको छ । रोपाइँमा परम्परागत हलो, जुवा र गोरु भन्दा पनि कृषिमा यान्त्रिकीकरण र प्रविधिको प्रयोग बढ्दै गएको छ । आधुनिक प्रविधिको विकासले पनि स्थानीय परम्परागत शैली लोप हुँदै गएको धेरैको बुझाई छ ।
असारे मौलिक भाका हराउँदै गए पनि धान रोपाइएको महत्व भने बढ्दै गएको छ । धान रोपाईसँगै दही चिउरा खाएर असार १५ मनाउने चलन पछिल्लो समय निकै बढेको पाइन्छ । सामाजिक सञ्जालमा पनि युवा पुस्ताले १५ असारमा धान रोपेको तथा हिलो छ्यापाछ्याप गरेका तस्वीरहरू सहित रमाइलो गर्ने प्रचलनसमेत बढेको हो । खेतीपाती बाहेक अन्य पेसा र व्यवसाय गर्दै आएकाहरुले पनि दही च्युरा खाएर १५ असार मनाउने चलन छ । यस दिन किसानदेखि सरकारी कार्यालयका उच्चपदस्त व्यक्तिहरु समेत खेतमा गई धान रोपेर धान दिवस मनाउने गर्दछन् । असार पन्ध्रको महत्व बढ्दै गए पनि परम्परागत असारे मौलिक गीत भने गुञ्जिन छोडेका छन् ।
तानसेन दमकडाकी ७५ वर्षीया सरस्वती केसीलाई धान रोप्दा गाईने गीतको याद आउँछ । उनी आफैंलाई पनि नाच्ने, गाउने र रमाइलो गर्ने गरेको सम्झना ताजै छ । ‘मज्जाले हिलोमा छुपुछुपु खेल्दै र धान रोप्दै अनि दही चिउरा खाँदै हामी असार पन्ध्रमा रमाइलो गथ्यौं’, केसीले पुराना दिनहरु सम्झदै भनिन् ‘खेतको आलीमा सबैजना बस्थ्यौँ, घरबाट ल्याइएको दही र चिउरालाई नाग नागिनी र देवतालाई चढाएर खाने गरिन्थ्यो । असार पन्ध्र गते धान रोपेर थकित भएपछि खेतको डिलमा बसी आलुको अचारसँगै दही चिउरा खाएर लय हालेर असारे गीत गाउँदाको रौनक कम्ती रमाइलो हुदैनथ्यो ।’ हिजो आज भने पुराना भाकाहरु सुन्न छोडिएको केसी बताउँछिन् । नयाँ पिँढीलाई असारे गीत गाउन आउँदा पनि आउँदैन । रोपाइँका बेला बिउ काढ्ने, खेत रोप्ने अनि रमाइलो गर्ने हुँदा उत्सवजस्तै मानिने असारे रोपाइँको रौनक घटेको माथागढी गाउँपालिका–४ झडेवाकी रविना पराजुली बताउँछिन् । पछिल्लो सयममा रोपाइँको क्रममा असारे गीत गाउन छाडिएपछि गीतसँगै टुक्का पनि लोप हुने अवस्थामा पुगेको उनको भनाई छ । ‘रोपाइँमा त सुनिन छाड्यो, छाड्यो, आजभोलि रेडियो, टिभीबाट समेत गीत सुनिँदैन,’ उनले भनिन् ।
पाल्पा रैनादेवी छहराका मनबहादुर रायमाझीलाई असार १५ गते बाउसे गर्न जाँदाको क्षण ताजै छ । ‘हिलोमा चलेर आउँदा लोद परी फर्किन्थ्यौ, तर दही चिउरा खाएपछि र अरुले रमाइलो गरेको देखेपछि पीडा र थकान भुल्थ्यौँ उनी भन्छन् । केसी, रायमाझी र पराजुुलीको जस्तै असार पन्ध्रकोे अनुभव धेरैको छ । यि त केही उदाहरण मात्र हुन् । पछिल्लो समयमा असारे भाका लोप हुँदै गएको छ । उहिलेका असारे भाका कमैले मात्र गाउँछन् । पहिले–पहिले रोपाइँ हुने घरमा अघिल्लो दिनदेखि नै बाजागाजाको जोडजाम हुन्थ्यो । रोपाइँमा गाइने असारे भाकाको बेग्लै मिठास गुञ्जिन्थ्यो । तर समयक्रमसँगै रोपाइँ गीत हराएका छन् । रोपाहारका रूपमा लहरै खेत रोपिरहेका महिला, खेत जोत्ने हली, बाउसे र आली ताछ्ने युवाहरू सबै मिलेर असारे भाका गाउने चलन थियो । गीत गाउँदै, एकअर्कामा हिलो छ्याप्दै जुहारी खेल्दै गरिएको रोपाइँ निकै रमाइलो हुन्थ्यो । तर हिजो आज आधुनिकतासँगै असारे मौलिक गीतका ति भाकाहरु विस्तारै हराउँदै जाँदा पुराना पुस्ताहरु भने चिन्तित छन् ।