Shittalpati
खेलकुद पत्रकार दिवसको सन्दर्भ

आज विश्व खेलकुद पत्रकार दिवस हो । खेलकुद वा स्पोर्टस विटमा कार्यरत पत्रकारहरुको लागि आजको दिनलाई विशेष दिनका रुपमा हेर्ने गरिन्छ । हरेक वर्ष जुलाई २ मा विश्व खेलकुद पत्रकार दिवस मनाउने गरिन्छ । खेलकुद पत्रकार दिवस सन् १९९४ बाट मनाउन थालिएको हो । सन् १९२४ मा बेलायतमा अन्तर्राष्ट्रिय खेलकुद प्रेस संघ (एआइपिस) स्थापना भएको दिनको स्मरण गर्दै हरेक वर्ष यो दिवस मनाउने गरिन्छ । खेलकुद पत्रकारिता खेलकुदसँग सम्बन्धित समाचार रिपोर्टिङसँग सम्बन्धित पत्रकारिताको एउटा शाखा पनि हो । सबै खेल सम्बन्धित समाचार र घटनाहरू क्रमशः खेल पत्रकारहरुले कभर गरेको इतिहास छ । अहिले आएर डिजिटल युगमा खेलकुद पत्रकारिताको गति र माग निकै बढेको छ । यो सकारात्मक पक्ष हो तर यस्ता प्रतिस्पर्धात्मक समाचारहरू कभर गर्न ठूलो सीप र विशेषज्ञता चाहिन्छ । त्यो भने छैन । दिवस खेलकुद पत्रकारहरुलाई सम्मान गर्न र उनीहरुको कडा परिश्रमको कदर गर्न पहल गर्नु हो । तर त्यो हुन सकिरहेको छैन ।

नेपालको आम पत्रकारितासँगै खेलकुद पत्रकारिताले जग हालेको अनुमान गर्न सकिन्छ । पत्रकारितामा छुट्टै विटको सुरुवात गर्ने हेतुले भन्दा पनि खेलकुदका गतिविधि भएपछि त्यसलाई सञ्चार माध्यममा समेट्ने गरी लेखिने गरिएका समाचार नै नेपालमा खेल पत्रकारिताको सुरुवाती चरण हुन् । खेलकुद पत्रकारिता आमपत्रकारिताका अन्य विधा जस्तो सामाजिक अभियान वा सामाजिक उत्तरदायित्वले डो¥याउने पत्रकारिता नभएका कारण यसको विकास पनि त्यही रुपमा अगाडि बढेको भेटिन्छ । खेल पत्रकारिताका लागि खेल गतिविधि हुन जरुरी छ । खेल गतिविधि बिना खेल पत्रकारिता असम्भव प्रायः नै छ । पत्रकारिता आफैमा एक चुनौतीपूर्ण पेशा हो । त्यसमा पनि खेल पत्रकारिताका लागि विशेष किसिमको क्षमता र अवस्था आवश्यक हुन्छ । एक्सन ओरिएन्टेड पत्रकारिता हुने भएका कारण खेल पत्रकारिता बचाउन र विकास गर्न खेलकुदकै विकास गर्न आवश्यक छ । यसर्थ खेल क्षेत्रको विकास र विस्तारमा ध्यान दिन सके मात्र खेलकुुद पत्रकारिता दिवस मनाउनुको सार्थकता रहन सक्छ ।

प्रकाशित मिति: आइतबार, असार १७, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update