पाल्पा, विश्व प्रेस काउन्सीलका महासचिव तथा प्रेस काउन्सील नेपालका पूर्व अध्यक्ष किशोर श्रेष्ठले खोज पत्रकारिता अहिलेको आवश्यकता रहेको बताएका छन् । शनिबार तानसेनमा भएको खोज पत्रकारिता प्रशिक्षणमा बोल्दै उनले अहिलेको सन्दर्भमा खोजी पत्रकारिता आवश्यक रहेको बताएका हुन् ।
उनले हिजोको अवस्थामा मिसन पत्रकारिता आवश्यकता रहे पनि अहिलेको खोज पत्रकारिता नै आवश्यक रहेको धारणा व्यक्त गरे । प्रशिक्षक समेत रहेका श्रेष्ठले प्रिन्ट मिडियाको भविष्य अब खोज पत्रकारितामा मात्रै रहेको बताए । उनले भने,‘खोजमूूलक रुपमा पाठकहरु समक्ष समाचारहरु प्रकाशन गर्न सकियो भने मात्र मिडिया चल्न सक्छन्, अन्यथा गाह्रो हुन्छ ।’ उनले खोजी पत्रकारितामा स्रोतलाई विश्वासीलो र सुरक्षित अवस्थामा राख्न सक्नुपर्नेमा जोड दिए । श्रेष्ठले भने,‘स्रोतलाई हामीले विश्वासीलो र सुरक्षित राख्न सकियो भने स्रोत खोज्न कोही जानुपर्दैन, स्रोत आफै खोज्दै आउँछ ।’ कुनै पनि समाचार प्रकाशन गर्दा स्रोतको पुष्टि गरेर मात्र प्रकाशन गर्न उनले जिल्लाका सम्पादकहरुलाई आग्रह गरे । उनले भने,‘समाचार हतारमा प्रकाशन नगरौं, स्रोतबाट पुष्टि भएपछि मात्र प्रकाशन गर्नु राम्रो हुन्छ ।’ उनले खोजी पत्रकारिता गर्न गाह्रो हुने तर चिन्न सकियो भने टिक्न सकिने बताए । महासचिव श्रेष्ठले पत्रकारितामा निरन्तरताको अभाव रहेको बताए । उनले नयाँ पुस्तामा पत्रकारितातर्फ आकर्षण नभएको र पुराना पुस्ताका पत्रकारहरुले छोड्दै जान थालेको धारणा व्यक्त गरे ।
श्रेष्ठले पत्रकार महासंघले ल्याएको सदस्यता शुद्धिकरण अभियानले पत्रकारिता गर्नेको झन् अभाव देखिने बताए । उनले प्रविधिको प्रयोगसँगै पत्रकारितालाई पनि सँगसँगै लैजान सक्नुपर्नेमा जोड दिए । श्रेष्ठ भने,‘प्रविधिको प्रयोग गर्न सकिएन भने हाम्रो पत्रकारिता छि पत्रकारिता हुँदै जाने छ ।’ उनले सरकारको नीति समेत मिडियालाई जोगाउने र खोज पत्रकारितामा प्रोत्साहन गर्ने खालको नभएको बताए । कार्यक्रममा बरिष्ठ पत्रकार कमल कोइरालले खोज पत्रकारिता गर्न साहस गर्नुपर्ने बताए । उनले खोज पत्रकारिता सजिलो नभएको भन्दै त्यसमा साहस, धैर्यता आवश्यक रहेको धारणा व्यक्त गरे । प्रशिक्षक समेत रहेका कोइरालाले पत्रकारको काम खोजेर सत्य, तथ्य बुझेर मात्र पत्रकारिता गर्नु रहेको बताए । उनले अहिलेको अवस्थामा खोज पत्रकारिता भएन भने प्रिन्ट मिडिया चल्न नसक्ने बताए । प्रशिक्षण पछिको कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले समाज परिवर्तनमा खोज पत्रकारिताले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले पत्रकार नुहँदा सरकार भएको अनुभूति समेत नहुने भन्दौ मिडियालाई विज्ञान र प्रविधिसँगै जोडेर लैजानुपर्नेमा जोड दिए । कार्यक्रममा नेपाल पत्रकार महसंघका अध्यक्ष रेखीराम राना महासंघका पूर्व अध्यक्षहरु झपेन्द्र गहिरे, राजेश अर्याल, नवजनचेतना राष्ट्रिय दैनिकका सम्पादक जगदीश भट्टराई, पाल्पा दर्शन प्रालिका सञ्चालक देव पचाभैया, नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष माधव अर्याल, नेपाल प्रेस युनियन पाल्पाका अध्यक्ष मन गहिरे, प्रेस चौतारी नेपाल पाल्पाका अध्यक्ष कृष्ण कार्की लगायतले आ–आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा नेतृत्व त्रैमासिक पत्रिकाका सम्पादक/प्रकाशक गोविन्द भट्टराईले पाल्पाली पत्रकारहरुलाई खोजमूलक रुपमा समाचार सम्प्रेषण तथा प्रकाशन गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले प्रशिक्षण आयोजना गरिएको बताए । नेपाल पत्रकार महासंघ पाल्पाको समन्वय, पाल्पा दर्शन प्रालि (पाल्पा जिप लाइन)को सहयोग तथा नेतृत्व मिडिया प्रालिको आयोजनामा भएको एक दिने प्रशिक्षणमा जिल्लामा सञ्चालित विभिन्न मिडियाका सम्पादक, निर्देशहरुको सहभागीता रहेको थियो । पत्रकार महासंघका अध्यक्ष रेखीराम रानाको अध्यक्षता, सचिव यज्ञमूर्ति तिमिल्सीनाको सञ्चालनमा कार्यक्रम भएको थियो ।