पाल्पा, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आर्थिक समृद्धिका लागि रोजगारमूलक कार्यक्रमलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताएका छन् । आइतबार पत्रकार महासंघ पाल्पाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी आर्थिक वर्षदेखि रोजगार सिर्जना गर्ने गरी कार्यक्रम ल्याइएको बताएका हुन् ।
मुख्यमन्त्री चौधरीले भने ‘जनतासँग प्रत्यक्ष जोडिने गरी प्रदेश सरकारसँग जे–जस्ता स्रोत छन् त्यसलाई नै उपयोग गरी रोजगारीको अवसर सिर्जना गर्नेतर्फ हामी लागेका छौं ।’ उनले जनताको आर्थिक अवस्थामा सुुधार भए मात्र प्रदेश समृद्ध हुुने भन्दै रोजगारमूलक कार्यक्रम केन्द्रीत गरिएको बताए । मुख्य मन्त्री चौधरीले भने ‘विपन्न, महिला, अदिवासी, जनजातिको जीवनस्तर नसुुधारिएसम्म्म मुलुकले आर्थिक विकास गर्न सक्दैन ।’
समयमै किसानले मल नपाउने विषयमा प्रदेश सरकार संवेदनशील रहेको समेत उनले बताए । मुख्य मन्त्री चौधरीले किसानलाई समयमै मल उपलब्ध गराउने विषयमा प्रधानमन्त्रीसँग कुरा गरेको र मल सहज बनाउने विषयमा सकारात्मक रहेको धारणा व्यक्त गरे ।
फरक प्रसंगमा उनले पाल्पाको विकासको मुख्य मेरुदण्ड भनेको पर्यटन रहेको बताए । पर्यटनको माध्यमबाट पाल्पाको विकास हुनेमा मुख्यमन्त्री चौधरीले विश्वास व्यक्त गरे । पर्यटनको विकासका लागि लुम्बिनीदेखि पाल्पा, पोखरा हुँदै मुक्तिनाथसम्म जोडिने गरी बुुद्ध सर्किटको रुट बनाउन लागेको समेत उनले बताए । आफ्नो नेतृत्वमा रहेको प्रदेश सरकार सञ्चार मैत्री भएको र सरकारले सञ्चार संस्थालाई उपलब्ध गराउने रकम कार्यविधी तयार गरी सञ्चारसँग आवद्ध संस्थाहरु बीच समन्वय गरी समानुपातिक रुपमा वितरण गरिने मन्त्री चौधरी बताए । कार्यक्रममा सञ्चारकर्मीको जवाफमा मन्त्री चौधरीले भने तानसेनमा प्रदेश सरकारले निर्माण गरेको साँस्कृतिक डवली अब छिट्टै तानसेन नगर सरकारलाई हस्तान्तरण गर्ने तयारी भएको बताए । कार्यक्रममा पत्रकार महासंघका उपसभापति भरत शर्मा, महासंघका सल्लाहाकार गोविन्द भट्टराई, सदस्य विष्णु घिमिरे, नारायण न्यौपाने लगायतले आ–आफ्नो जिज्ञासा राखेका थिए । पत्रकार महासंघका अध्यक्ष रेखीराम रानाको अध्यक्षता, सचिव यज्ञमूर्ति तिमिल्सीनाको सञ्चालनमा कार्यक्रम भएको थियो ।