पाल्पा, राष्ट्रिय परीक्षा बोर्डले २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा यसै हप्ता सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डले असार २३ गतेभित्र एसइईको नतिजा सार्वजनिक गर्ने गरी काम गरेको जनाएको छ ।
नतिजा रुजु र इन्ट्री गर्ने काम भइरहेको बोर्डले जनाएको छ । अन्तिम रुजु र इन्ट्री गर्ने प्राविधिक प्रकृतिको काम भएकाले लक्ष्य पूरा नै हुन्छ भन्ने एकिन हुँदैन । प्राविधिक समस्या नआए नतिजा प्रकाशन अर्को साता धकेलिन पनि सक्ने बोर्डका कर्मचारीले बताए । गत चैत १७ गतेदेखि सञ्चालित परीक्षामा ४ लाख ८५ हजार ३ सय ९६ विद्यार्थी सहभागी थिए । लेटर ग्रेडिङ निर्देशिका– २०७२ वा २०७८ अनुसार कुनमा नतिजा सार्वजनिक गर्ने समेत टुंगो लागिसकेको छैन । बोर्डको बैठकले मात्र त्यस विषयमा निर्णय गर्ने व्यवस्था छ । आइतबारसम्म बैठक डाकिएको छैन् । गत वर्ष लेटर ग्रेडिङ निर्देशिका २०७८ कार्यविधि लागू भए पनि २०७२ अनुसार नै नतिजा प्रकाशित गरिएको थियो । यसपाली एसइई दिने विद्यार्थी पुरानो पाठ्यक्रमको अन्तिम व्याच हुन् । त्यसैले पुरानो निर्देशिका (२०७२) अनुसार नै नतिजा प्रकाशन हुनुपर्नेमा धेरैको जोड छ ।