Shittalpati
भारतले पठायो पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची 

पाल्पा, भारतीय आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको छ । इण्डियन आयल कर्पोरेशनले हरेक १५ दिनमा नेपाल आयल निगमलाई पठाउने व्यवस्था अनुसार नयाँ नेपाल आयल निगमलाई नयाँ मूल्य सूची पठाएको हो ।

आईओसीले यो पटक पठाएको मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर १४ पैसा घटेर आएको छ भने डिजल २ रुपैयाँ १६ पैसा बढेर आएको छ । त्यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर १ सय ६१ रुपैयाँ घटेर आएको निगमले जनाएको छ । ग्यासको मूल्य घटेर आएपछि निगमलाई ग्यासमा अब नोक्सानी नरहेको निगमले जनाएको छ । नेपाल आयल निगमलाई आईओसीले १५/१५ दिनमा इन्धनको नयाँ मूल्य सूची पठाउँदै आएको छ ।

नेपाल आयल निगम हाल नाफामा छ । निगमलाई अब पेट्रोलमा प्रतिलिटर १२ रुपैयाँ, ग्यासमा प्रतिसिलिण्डर ७ रुपैयाँ, डिजेलमा १३ रुपैयाँ नाफा रहेको छ । त्यस्तै मट्टितेलमा भने प्रतिलिटर २७ रुपैयाँ नाफा छ । हवाई इन्धनमा निगम आन्तरिकतर्फ प्रतिलिटर ३७ र बाह्यतर्फ ५७ रुपैयाँ नाफामा छ ।

नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसन (आईओसी)को सबै ऋण चुक्ता गरेको छ । ९ महिना अघिसम्म २० अर्बभन्दा बढी बक्यौता रहेको निगमले क्रमशः नाफाबाट सबै चुक्ता गरेको हो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दै जाँदा पनि निगमले आईओसीको ‘बक्यौता’लाई कारण देखाउँदै नेपालमा सो अनुसार मूल्य घटाएको थिएन । उपभोक्तालाई मूल्यमा भार पारेर निगमले अन्ततः आईओसीको सबै बक्यौता चुक्ता गरेको हो ।

प्रकाशित मिति: आइतबार, असार १७, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update