पाल्पा, ललिता निवास जग्गा प्रकरणमा जोडिएका थप दुुई आरोपित पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले सोमबार तत्कालिन नायव सुब्बा रमेशकुमार पोखरेल र देवनारायण महर्जनलाई पक्राउ गरेको हो ।
आइतबार पनि प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो । यससँगै यस प्रकरणमा हालसम्म १२ जना पक्राउ परिसकेका छन् । जस मध्ये तीन जना भने अदालतको आदेशका कारण पक्राउ परेपछि छुटे ।
विसं २०४९ देखि २०६९ सम्ममा सरकारको स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी भएको फेला परेपछि उक्त प्रकरणमा सिआइवीले अनुसन्धान गरिरहेको छ । यसअघि तीन सय जनालाई प्रतिवादी बनाएर ब्यूरोले जिल्ला सरकारी वकिलको कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको थियो । तर सरकारी वकिलको कार्यालयले थप अनुसन्धान गर्नुपर्ने जनाउँदै फाइल फिर्ता पठाएको थियो । त्यसपछि अनुसन्धान जारी रहेको बताए पनि थप प्रगति भएको थिएन । दुई वर्षअघि सरकारी कागजात किर्तेको आरोपमा अनुसन्धान अघि बढे पनि मुद्दा दायर हुन सकेन । त्यतिबेला रोकिएको फाइल अहिले आए अघि बढेको हो ।