Shittalpati
पेट्रोलियम पदार्थको मूल्य घट्यो, कहाँ कति ?

पाल्पा, नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । सोमबार राति १२ बजेदेखि लागू  हुने गरी  ठाउँ पिच्छे मूल्य घटाइएको हो । निगमले काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर ५/५ रुपैयाँ मूल्य घटाएको छ । तराई क्षेत्रमा भने प्रतिलिटर साढे ७ रुपैयाँ घटाएको छ । सुर्खेत र दाङमा प्रतिलिटर ६ रुपैयाँका दरले मूल्य घटाइएको निगमले जनाएको छ ।

निगमले पहिलो, दोस्रो र तेस्रो वर्गमा विभाजन गरेर मूल्य समायोजन गरेको छ । उसले तराईका चारआली, विराटनगर, जनकपुर, वीरगन्ज, अमलेखगन्ज, भलबारी, नेपालगन्ज र धनगढी लाई पहिलो वर्ग, सुर्खेत र दाङ दोस्रो र काठमाडौं, पोखरा र दिपायललाई तेस्रो वर्गमा राखेको छ । पहिलो वर्गका प्रतिलिटर साढे ७ ,दोस्रो वर्गका लागि प्रतिलिटर ६ रुपैयाँ र तेस्रो वर्गका लागि ५/५ रुपैयाँ मूल्य निर्धारण गरेको हो ।  अब काठमाडौं, पोखरा र दिपालयमा पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १ सय ७० रुपैयाँ पर्नेछ । डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १ सय ५०/१ सय ५० रुपैयाँ पर्नेछ ।

त्यस्तै तराईमा पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १ सय ६७.५ रुपैयाँ पर्नेछ । डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १ सय ४७.५/१ सय ४७.५ रुपैयाँ पर्नेछ । सुर्खेत र दाङमा भने पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १ सय ६९ रुपैयाँ पर्नेछ । डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १ सय ४९/१ सय ४९ रुपैयाँ पर्नेछ । एलपी ग्यासको मूल्य यथावत राखेको निगमले हवाइ इन्धनको भाउ आन्तरिक तर्फ प्रतिलिटर १४ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिहजार लिटर १ सय १५ अमेरिकी डलरले घटाएको छ । २०७९ सालमा निगम घाटामा गएपछि सहज आपूर्तिका लागि सबै ठाउँमा एउटै मूल्य लागु गरिएको भए पनि अहिले सहज भएकाले क्षेत्रगत रूपमा मूल्य निर्धारण गरिएको  निगमले जनाएको छ ।

भारतीय आयल कर्पोरेसनले गत आइतबार पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको थियो । इण्डियन आयल कर्पोरेशनले हरेक १५ दिनमा नेपाल आयल निगमलाई पठाउने व्यवस्था अनुसार नयाँ नेपाल आयल निगमलाई नयाँ मूल्य सूची पठाएको हो । आईओसीले यो पटक पठाएको मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर १४ पैसा घटेर आएको छ भने डिजल २ रुपैयाँ १६ पैसा बढेर आएको थियो । त्यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर १ सय ६१ रुपैयाँ घटेर आएको भए पनि नेपाल आयल निगमले भने मूल्य यथावत राखेको छ । ग्यासको मूल्य घटेर आएपछि निगमलाई ग्यासमा अब नोक्सानी नरहेको निगमले जनाएको छ । नेपाल आयल निगम हाल नाफामा छ । 

प्रकाशित मिति: मंगलबार, असार १९, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update