Shittalpati
लुम्बिनीमा विनियोजन विधेयक पारित

पाल्पा, लुम्बिनी प्रदेशसभाले विनियोजन विधेयक पारित गरेको छ । मंगलबार बसेको बैठकले आगामी आर्थिक वर्षको सेवा र कार्यका लागि सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको हो ।

अर्थमन्त्री धनबहादुर मास्कीले विधेयकमाथि छलफल गरियोस् भनि प्रस्ताव राखेका थिए, तर प्रतिपक्ष एमालेका सांसदहरुले विरोध गरेका थिए । विरोधका कारण छलफल भने अगाडि बढ्न सकेन । दिउँसो साढे १ बजेदेखि सुरु भएको बैठक एमाले सांसदहरुको अवरोधका कारण एक घण्टाका लागि स्थगित गरिएको  थियो । लामो समयसम्म पनि छलफल नभएपछि सभामुख तुुलराम (बसन्त) घर्तीले निर्णायार्थ पेस गरेको विधेयकलाई बहुमतले पास गरेको हो ।

प्रदेशसभामा एमालेका सांसदहरुले खारेज भएका निर्देशनालयहरु फिर्ता ल्याउनुपर्ने माग गर्दै सुरुदेखि नै आन्दोलन गर्दै आएका छन् । सोमबारको बैंठकमा पनि प्रतिपक्ष दल एमालेको अवरोधका बीच बजेटमाथिको सैद्धान्तिक छलफल सकिएको थियो । सभामुखले उपलब्ध गराएको समयमा पनि सरकार र प्रतिपक्ष दलबीच कुनै संवाद र छलफल हुन नसकेपछि सभामुखले विरोधकै बीच बैठक सुरु गरेका थिए । उक्त बैंठकमा अर्थमन्त्रीले असार १ गते प्रस्तुत गरेको आगामी वर्षको सरकारको राजस्व र व्ययको वार्षिक अनुमान बजेट वक्तव्यमाथिको सैद्धान्तिक छलफल भएको थियो ।

प्रकाशित मिति: मंगलबार, असार १९, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update