Shittalpati
अंग्रेजीका शिक्षकलाई अभिमुखीकरण

पाल्पा, अंग्रेजी विषय पढाउने शिक्षकहरुका लागि अभिमुखीकरण कार्यक्रम गरिएको छ । रामपुर नगर सरकारको शिक्षा शाखाले आधारभुत तहमा अंग्रेजी पढाउने शिक्षकहरुका लागि २ दिने शिक्षण अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो ।

अंग्रेजी विषयको शिक्षालाई थप गुणस्तर र विद्यार्थीहरुले सहजै सिक्न सक्ने बनाउन शिक्षण अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको नगर शिक्षा शाखाले जनाएको छ । दुई दिने अभिमुखीकरण एक आचैपचारिक कार्यक्रमकाबिच समापन गरिएको छ । नगर प्रमुख रमणबहादुर थापाले  कार्यक्रमको समापन गरेका हुन् । कार्यक्रमको समापन गर्दै  नगर प्रमुख थापाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको अंग्रेजी सुधारका लागि शिक्षकहरुको महत्वपूर्ण भूमिका हुने बताए । विद्यालयमा अध्यापन गराउने शिक्षकको मेहनतमा विद्यार्थी र समग्र विद्यालयको शैक्षिक गुणस्तर निर्भर हुने भन्दै शिक्षकलाई शिक्षण अभिमुखीकरण महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । कक्षा शिक्षणलाई प्रभावकारी र उपलब्धिमूलक बनाउन शिक्षकले प्रयोग गर्ने शैक्षिक सामग्री र शिक्षण विधिमा सुधार्न शिक्षकहरुलाई उनले आग्रह गरे । नगर प्रमुख थापाले जुनसुकै क्षेत्रको दीर्घकालिन विकासका लागि समुदायमा शिक्षाको विकास हुन जरुरी बताए । उनले भने ‘भौतिक विकासले मात्र कुनै पनि क्षेत्रको विकास भएको मानिदैन यसका लागि त्यहाँ बसोबास गर्ने मानिसको मस्तिष्कको विकास हुन आवश्यक छ ।’ मानिसको मस्तिष्कको विकास भए मात्र हरेक विकाले सार्थकता पाउने भन्दै शिक्षाको माध्यमबाट मस्तिष्कको विकासका लागि शिक्षकरुलाई लाग्न उनले आग्रह गरे । भौतिक विकासका लागि जनप्रतिनिधि लागेको भन्दै नगर प्रमुख थापाले नगरको शैक्षिक र सामाजिक विकासको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिए । 

कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत रामहरि पाण्डेले विद्यालयको शैक्षिक सुधारका लागि शिक्षकको महत्वपूर्ण भूमिका रहने बताए । उनले शिक्षकले चाहेमा विद्यालय र विद्यार्थीको अंग्रेजी विषयमा सुधार हुने धारणा व्यक्त गरे । नगर शिक्षा अधिकृत विकल काफ्लेले नगरपालिकाले शिक्षकहरुको क्षमता विकासमा धेरै लगानी गरेको भन्दै अब त्यसको प्रतिफल लिनु पर्ने बेला आएको बताए । सञ्चालन गरेका कार्यक्रमको प्रभाव र शिक्षकहरुको सीप क्षमताको मूल्यांकनका लागि अनुगमनको पाटोमा जोड दिईने समेत उनले बताए ।  तालिमका प्रशिक्षक सुनिल देवकोटा र बाबुराम पंगेनीले २ दिनसम्म तालिममा सिकेका कुरालाई व्यवहारमा लागु गरेर सामुदायिक विद्यालयलाई अंग्रेजीमा कमजोर छ भन्ने कुरालाई चिर्न आग्रह गरे । कार्यक्रममा सहभागी शिक्षकहरु लेख प्रसाद श्रेष्ठ र रस्मिता पोखरेलले तालिम समय सापेक्ष र उपलब्धिमूलक भएको भन्दै तालिममा सिकेका कुरा कक्षा शिक्षणको क्रममा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।  

प्रकाशित मिति: बुधबार, असार २०, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update