Shittalpati
जोखिममा तिनाउ नदी आसपासका बस्ती,  सतर्कता अपनाउन आग्रह

पाल्पा, रुपन्देही र पाल्पा आसपासमा शुक्रबार रातिदेखि परेको निरन्तरको वर्षाले तिनाउ नदीमा बाढी आएको छ । लगातारको वर्षाका कारण नदीमा आएको बाढीले पानीको सतह खतराको तह पार गरेको छ । शनिबार बिहानदेखि पानीको सतह बढेको हो । मंगलबारसम्म आइपुग्दा नदीमा पानीको सतह बढेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाढीले आसपासका बस्ती जोखिममा परेका छन् । निरन्तरको वर्षाका कारण नदीमा जलसतहले खतराको तह पार गरेको भन्दै महाशाखाले उच्च सतर्कता अपनाउन नदी किनारबासीलाई आग्रह गर्दै आएको छ ।

बाढी मापन केन्द्र बुटवलका अनुसार तिनाउमा मंगलबार बिहान ७ बजेको समयमा पानीको सतह ७.२२ मिटर पुगेको थियो । जलसतह ५.२ मिटरलाई सतर्कता तह मानिन्छ भने ५.६ मिटरलाई खतराको तह मानिन्छ । मंगलबार बिहानैदेखि तिनाउले खतराको तह पार गरेको हो । नदीले खतराको तह पार गरे पनि अहिलेसम्म मानवीय र भौतिक क्षति भने भएको छैन । तिनाउ लगायत रुपन्देहीका अन्य नदीमा पनि पानीको बहाव बढेकाले नदी किनारमा रहेका सर्वसाधारणलाई सुरक्षित रहन जिल्ला प्रशासन कार्यालय रुपन्देहीले पनि आग्रह गरेको छ । 

रूपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले तिनाउ नदीले खतराको तह पार गरेकाले सबै स्थानीय सरकारलाई सतर्क रहन आग्रह गरेको बताए । पाल्पाको माडीबाट शुरु भएको तिनाउमा बुटवलसम्म आइपुग्दा साना ठूला ३० वटा बढी खोला मिसिएका छन् । हिउँद होस् या वर्षा जुनसुकै याममा पनि खोलाको बगर नै ढाकिएर विशाल आकारमा तिनाउ नदी वहने गर्दछ । निरन्तर वर्षा भइरहेको अवस्थामा नदी सतह पार गर्ने गर्दछ । नदी दोहन र अतिक्रमणकै कारण तिनाउ आसपासका क्षेत्र जोखिममा परेका हुन् । बाढी आउँदा आसपासका नागरिक त्रसित हुनुपर्ने अवस्था रहेको छ । नदी कटानका कारण नदी किनारका घरहरू झुण्डिएका जस्ता देखिन्छन् । पानी परेसँगै बाढी पस्ने र पहिरो खस्ने डरले धेरै स्थानीयवासीको निन्दभोक हराएको छ । यहाँको यो समस्या नयाँ भने होइन तर, यसको दीर्घकालीन समाधानमा कसैको पनि चासो देखिँदैन ।

नदी छेउमा सुकुम्बासीको नाममा अव्यवस्थित बसोबास गरेकाहरुलाई हटाउनुको साटो सरकारले जनताको तटबन्धका नाममा बस्ती बसाल्न प्रोत्साहित गरिरहेको छ । यो विषयलाई राजनीतिक दलका नेताहरु भोट बैंकको रुपमा प्रयोग गरिरहेका छन् । यही बस्तीलाई निर्वाचनताका भोटको निर्णायक बनाउने गरेका राजनीतिक दलहरुको स्वार्थ पनि बगरमा बस्ती बसाल्ने कार्यमा मिल्ने गरेको छ । नदीको अव्यवस्थित दोहनले समय समयमा आसपासका बासिन्दा पीडित हुने गरेका छन् । हरेक वर्ष करोडौ धनजनको क्षति पु¥याएको छ । 

प्रकाशित मिति: बुधबार, असार २०, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update