पाल्पा, अनौपचारीक सेवा क्षेत्र इन्सेक पाल्पाले नेपाल मानवअधिकार वर्ष पुस्तक २०२४ को लागि अर्धवार्षिक पूूर्व समीक्षा गरेको छ । समीक्षामा जिल्लाको मानवअधिकारको अवस्थाबारे यहाँका राजनीतिक दल, पत्रकार, उपभोक्ता, विभिन्न अधिकारकर्मीहरु, सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रतिनिधीहरुबिच अन्तक्र्रिया गरिएको छ । कार्यक्रममा सहभागीहरुले पाल्पामा हरेक विषयबस्तुमा मानवअधिकारको हिसावले हेर्दा स्थिती डरलाग्दो रहेको बताएका छन् ।
कार्यक्रममा सहभागी वक्ताहरुले औपचारिकता भन्दा पनि कार्यान्वयन हुने तरीकाबाट छलफल तथा अन्तक्र्रिया हुनुपर्नेमा जोड दिएका थिए । संविधानमा लेखिएका कुराहरु कार्यान्वयनमा नआउनु पनि सरकार र राज्यपक्षबाटै मानवअधिकारको गम्भिर हनन् भएको सहभागीहरुले बताए । सबै मानिसलाई गाँस, वास र कपासको सही व्यबस्थापन गर्न सकेमा मानवअधिकार उलङ्घनका घटनामा कमी आउनेमा बक्ताहरुले जोड दिए । मानवअधिकार क्षेत्रको दायरा ठूलो रहेकाले कुनै विषयबस्तुमा केन्द्रित रहेर कार्यक्रम गर्दा बढी प्रभावकारी हुने उनीहरुले बताए । सहभागीहरुले अहिले बिमाबाट उपचार गराउँदा ३ दिनसम्म समय खर्चिनु परेको, नागरिक तथा संघ संस्थाको अनुगमन राज्यले गर्ने तथा राज्यबाट लापरवाही हुँदा कसले अनुगमन गर्ने ? पाल्पामा बजार अनुगमन नभएको, तानसेनमा बर्षायाममा पनि खानेपानीको समस्या देखिएको महिला, बालबालिका, अपाङ्ग जेष्ठ नागरिकहरु हरेक विषयवस्तुमा पिडित बन्नु परेको कार्यक्रममा सहभागीहरुले गुनासो गरे । कार्यक्रममा जिल्ला समन्वय समितिका उप प्रमुख काशिका गैरेले राज्य, नागरिक मिलेर नै मानवअधिकारको रक्षा र कार्यान्वयन गर्न सकिने बताईन् । हरेक नागरिकले मानवअधिकार हनन् हुने गरी काम नगर्ने र अरुलाई पनि सचेत बनाउदै जानु पर्नेमा उप प्रमुख गैरेले जोड दिइन ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले छलफलमा धैरै राम्रा कुराहरु आएको बताए । उनले सबैपक्षले आ–आफ्नो क्षेत्रबाट कार्यान्वयन गर्दै जानुपर्नेमा जोड दिए । इन्सेकले मानवअधिकारका क्षेत्रमा गरेका कामहरु राम्रा र सकारात्मक भएकाले समीक्षाको दायरा बढाउदै जानुपर्नेमा प्रजिअ बास्तोलाले बताए । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक हेरम्व शर्माले कार्यालयबाट दिएका सेवा, भएका कामहरुको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा इन्सेक पाल्पा प्रतिनिधी यज्ञमुर्ती तिमिल्सीनाले फागुनदेखी असारसम्म जिल्ला भित्रको मानवअधिकारको अवस्था बारे प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनमा ६ महिनाको अवधीमा ४४ वटा घटना मानवअधिकार उलङ्गनका घटना भएको जसमा ५ जना महिला र ५ जना बालबालिका प्रत्यक्ष पिडित रहेको उल्लेख गरिएको छ । कार्यक्रम मावअधिकार रक्षक सञ्जाल पाल्पाका अध्यक्ष भगवान भण्डारीको अध्यक्षतामा भएको थियो ।