Shittalpati
विवादमा प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नो पछिल्लो भनाइका कारण विवादमा मुछिएका छन् । आफूलाई प्रधानमन्त्री बनाउनका लागि प्रितम सिंहले कहिले दिल्ली धाएर त कहिले काठमाडौंमा सहयोग गरेको भन्दै दाहालले सार्वजनिक कार्यक्रममै दिएको अभिव्यक्ति सर्वत्र आलोचित बनेको छ । यही कारण प्रतिपक्षी दलहरुले समेत राजीनामा माग गर्दै संसद् अवरुद्ध पार्दै आएका छन् । उनको अभिव्यक्तिलाई लिएर  थुप्रै प्रश्नहरु समेत उठेका छन् । पहिलो पटक प्रधानमन्त्री बन्दा भारतप्रति निकै नै आक्रोशित देखिने गरेका दाहाल तेस्रो पटक किन बढी नै लचिलो बने भन्ने प्रश्न सर्वत्र छ ।

प्रधानमन्त्रीको भनाइले राजीनामासम्म माग्ने स्थिति बन्न पुगेको छ । जसले फेरि अस्थिर राजनीतिलाई प्रश्रय दिने निश्चित छ । दाहालको अभिव्यक्तिले सरकार निर्माणमा भारतीय भूमिका महत्वपूर्ण रहेको देखाउँछ । तर यिनै दाहाल पहिलो पटक प्रधानमन्त्री भएर सरकारबाट बाहिरिँदा भारततर्फ इङ्गित गर्दै सिधैँ प्रभुसँग वार्ता गर्ने अभिव्यक्ति दिएर चर्चामा आएका थिए । त्यसबेला उनको बुझाइ आफ्नो विरुद्धमा भारतीय पक्षले खेलेको भन्ने थियो । तर अहिले भने दाहालमा भारतप्रतिको धारणामा मात्रै परिवर्तन भएको छैन, सरकार नै उतैबाट बन्छ भन्नेसम्मको मनस्थितिमा पुगेको देखिन्छ । यद्यपि, प्रधानमन्त्री प्रचण्डले आफूले के बोल्दैछु भन्ने कुरा विगतमा समेत हेक्का राख्न नसकेका कयौं उदाहरणहरु छन् । प्रचण्डका भनाइहरुलाई विगतदेखि नै विवादास्पदरुपमा लिँदै आइएको छ । कहिले सशस्त्र जनयुद्धकालमा ५ हजारको हत्या आफूले जिम्मा लिन सक्ने भनेर त कहिले क्यान्टोनमेन्ट प्रकरणमा लडाकुहरुको संख्यालाई लिएर गरिएको टिप्पणीका रुपमा, कहिले एमसिसी प्रकरणमा हस्ताक्षर नगरेको भन्ने सन्दर्भ उछालेर त कहिले बाँदरमुढे घटनापीडितहरुका लागि ६० लाखको प्याकेज दिने भनेर गरिएको कबुलको रुपमा उनका भनाइहरु त्यति विश्वसनीय रुपमा प्रकट भएका देखिँदैनन्, जसले सधैँ विवादलाई नै बढवा दिइरहेको हुन्छ । यी र यीजस्ता अनावश्यक कुरा गर्ने भएकै कारण उनलाई राजनीतिमा समेत अस्थिर चरित्रका रुपमा लिइने गरिएको छ । प्रधानमन्त्रीजस्तो जिम्मेवार व्यक्तिले दिएको गैरजिम्मेवार अभिव्यक्तिले देशको स्वाधिनता र अखण्डतालाई नै प्रहार गर्न पुगेको छ भन्दा अन्यथा हुँदैन । पछिल्लो समय प्रधानमन्त्री बनेको छोटो समयमा भुुटानी शरणार्थी प्रकरण र ललिता निवास प्रकरणमा देखाएको सक्रियता राम्रै रहे पनि विवादित अभिव्यक्तिले भने उनी माथि नकारात्मक सन्देश प्रवाह भएको छ । यो अत्यन्त दुखद् हो । राम्रा काम गर्दै आएको बेला यस्ता अभिव्यक्तिहरु नदिदा प्रधानमन्त्रीको हित हुुन्छ । उनले कुरा भन्दा पनि कामलाई प्राथमिकतामा राखेर अगाडि बढ्न सकेमा यस्ता विवादित अभिव्यक्तिहरु आउने थिएनन् । यसर्थ प्रधानमन्त्री प्रचण्डले जथाभावी बोल्नुभन्दा पनि कामलाई नै प्राथमिकता दिन सके राम्रो हुन्छ ।

प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update