Shittalpati
लुम्बिनी प्रदेशको बजेट पारित

पाल्पा, लामो समयको रस्साकस्सीपछि लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट पारित भएको छ । प्रमुख प्रतिपक्ष दल एमालेको निरन्तर अवरोधका बीच पारित हुन नसकेको बजेट सहमतिपछि बुधबार राति बहुमतले पारित भएको हो ।

अर्थमन्त्री धनबहादुर मास्कीले प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रदेशसभाको बैठकमा प्रस्तुत गरेका थिए । उक्त प्रस्ताव ध्वनि मतको आधारमा बहुमतले पारित भएको सभामुख तुलाराम घर्तीले घोषणा गरेका हुन् । आगामी आवका लागि प्रदेशसभामा सरकारका तर्फबाट अर्थमन्त्री मास्कीले यही असार १ गतेका लागि ४० अर्ब ४७ करोड ८९ लाख ९७ हजार बराबरको बजेट प्रस्तुत गरेका थिए । सरकारले ल्याएको बजेटमा असहमति जनाउँदै प्रमुख प्रतिपक्ष दल एमालेले विरोध गर्दै आएको थियो । यही कारण चार पटकसम्म सदन अवरुद्ध हुन पुगेको थियो । मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र प्रमुख विपक्षीबीच मंगलबार भएको वार्तापछि प्रदेशसभाको बुधबारको बैठक सञ्चालन भएको थियो । सरकारले यही असार १ गते ल्याएको बजेट चालुतर्फ रु १३ अर्ब ६३ करोड ३० लाख ९९ हजार र पुँजीगततर्फ रु २३ अर्ब २५ करोड ६९ लाख एक हजार रहेको छ । त्यस्तै, वित्तीय हस्तान्तरणतर्फ रु तीन अर्ब ५८ करोड ९७ लाख छ । चालुतर्फ ३३ दशमलव ६८ प्रतिशत, पुँजीगततर्फ ५७ दशमलव ४५ प्रतिशत र वित्तीय हस्तान्तरणतर्फ आठ दशमलव ८७ प्रतिशत रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update