Shittalpati
एसईई नतिजा गत वर्षको भन्दा सुधार, माथिल्लो ग्रेड ल्याउने विद्यार्थी बढे

पाल्पा, यसपालीको एसईई (माध्यमिक शिक्षा परीक्षा) को नतिजा गत वर्षको तुलनामा सुधार देखिएको छ । बिहीबार राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार अघिल्लो वर्षको तुलनामा २०७९ को परीक्षामा माथिल्लो ग्रेड (स्तरीकृत अंक) ल्याउने विद्यार्थीको संख्या सुधारोन्मूख रहेको पाइएको हो ।

गत चैत १७ गतेदेखि सञ्चालित परीक्षामा ४ लाख ८५ हजार ३ सय ९६ विद्यार्थी सहभागी थिए । जसमा जिपिए ३ दशमलव ६० देखि चार प्राप्त गर्ने विद्यार्थीको संख्या २२ हजार चार सय ७५ अर्थात् चार दशमलव ६३ प्रतिशत छ । गतवर्ष एक दशमलव ९४ प्रतिशत विद्यार्थी थिए ।  त्यति बेला ४ लाख ९५ हजार ७ सय ५१ परीक्षार्थीमध्ये ४२ जनाले मात्रै जीपीए ४ मा ४ ल्याए हुन् । जुन संख्या कोरोना महामारीअघि (२०७४ र २०७५) को भन्दा पनि कम थियो । समान परीक्षा किसिम र मूल्यांकनको ग्रेडिङ पद्धति हुँदा २०७४ मा ७४ जना र २०७५ मा १ सय ६ जनाले जीपीए ४ ल्याएका थिए । कोरोना महामारीका बेला विद्यालयले नै मूल्यांकन गरेकाले एसईईमा जीपीए ४ प्राप्त गर्ने विद्यार्थीको संख्या अस्वाभाविक रूपमा धेरै थियो । २०७७ मा ८ हजार ४ सय ४४ जना र २०७६ मा ९ हजार ३ सय १९ जनाले जीपीए ४ ल्याएका थिए । त्यति बेला बोर्डले नतिजा प्रमाणीकरण मात्रै गरेको थियो । 

 यस पटक प्रकाशित नतिजा अनुसार तल्लो ग्रेड ल्याउने विद्यार्थी घट्दो र माथिल्लो ग्रेड ल्याउने विद्यार्थी बढ्दो पाइएको हो । अघिल्ला वर्षमा कोभिड–१९ का कारण भौतिक माध्यमबाट पढाइ नभएको र विद्यार्थीले पर्याप्त तयारी गर्न नपाएकाले नतिजा कमजोर रहेकामा हाल नियमित पठनपाठनले त्यसमा सुधार आएको विश्लेषण गरिएको छ । यस वर्षको नजतिजा अनुसार जिपिए तीन दशमलव २० देखि तीन दशमलव ६० ग्रेड ल्याउने ५५ हजार ६९ अर्थात् ११ दशमलव ३६ प्रतिशत छन् भने गत वर्ष ८ दशमलव ४० प्रतिशत थिए ।

जिपिए दुई दशमलव ८० देखि ३ दशमलव २० सम्ममा ७२ हजार तीन सय ६२ अर्थात् १४ दशमलव ९२ प्रतिशत विद्यार्थी छन् भने गत वर्ष १४ दशमलव १९ प्रतिशत थिए । जिपिए दुई दशमलव ४० देखि दुई दशमलव ८० सम्म ल्याउनेमा यसपटक ८९ हजार तीन सय ३१ अर्थात् १८ दशमलव ४२ छन् भने गतवर्ष १८ दशमलव ३१ प्रतिशत थिए । जिपिए दुईदेखि दुई दशमलव ४० सम्म यसवर्ष एक लाख २२ हजार ९३ विद्यार्थी अर्थात् २१ दशमलव ०९ विद्यार्थी छन् भने गत वर्ष २३ प्रतिशत थिए ।

जिपिए एक दशमलव ६० देखि दुईसम्म प्राप्त गर्ने यसवर्ष ८८ हजार चार सय ४७ अर्थात् १८ दशमलव २४ विद्यार्थी छन् भने गतवर्ष २० दशमलव ३० प्रतिशत थिए । जिपिए एक दशमलव २० देखि एक दशमलव ६० सम्ममा यसवर्ष ३८ हजार सात सय ७७ अर्थात् सात दशमलव ९९ प्रतिशत विद्यार्थी छन् भने गत वर्ष नौ प्रतिशत थिए । जिपिए शून्य दशमलव ८० देखि १ दशमलव २० ग्रेड ल्याउने २२ हजार विद्यार्थी अर्थात् शून्य दशमलव ४५ प्रतिशत देखिएका छन् । 

गत वर्ष यस ग्रेडमा शून्य दशमलव ६६ प्रतिशत विद्यार्थी थिए । यसवर्ष ननग्रेडेड हुनेमा १३ हजार नौ सय ९२ अर्थात् दुई दशमलव ८९ प्रतिशत विद्यार्थी छन् । परीक्षामा चार लाख ८४ हजार नौ सय ३९ नौ विद्यार्थी रहेकामा चार सय ३१ विद्यार्थीको परीक्षा रद्द गरिएको छ भने दुई सय ९० विद्यार्थीको परीक्षाफल स्थगन गरिएको बोर्डले जनाएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update