पाल्पा, यातायात व्यवस्था सेवा कार्यालय तानसेन पाल्पाले दुई पाङ्ग्रे सवारी साधनको सवारी चालक अनुमति पत्रको परीक्षा लिन सुरु गरेको छ । यातायात व्यवस्था सेवा कार्यालय पाल्पाले शुक्रबार पहिलो पटक मोटरसाइकल तर्फ वर्ग (ए) र स्कुटरतर्फ वर्ग (के) को नयाँ लाइसेन्स जारी गर्न लिखित परीक्षा लिएको हो ।
लिखित परीक्षामा २ सय जना परिक्षार्थीहरु सहभागी भएका छन् । परीक्षार्थीले लिखित परीक्षामा ६० अंक ल्याएमा पास हुने व्यबस्था रहेको छ । लिखित परिक्षामा पास भएका परिक्षार्थीहरुको सोमबार, मंगलबारबाट प्राटिक्कल (ट्रायल) परिक्षा शुरु हुने सेवा कार्यालय पाल्पाका प्रमुख केशव सुनारले बताए ।
पाल्पाको यातायात सेवा कार्यालयमा सवारी चालक अनुमति पत्रको लागि देशभरका जुनसुकै स्थानका व्यक्तिहरुले मोबाईल कम्प्युटरबाट सजिलै आवेदन दिन सक्ने सुविधा रहेको कार्यालय प्रमुख सुनारले बताए । यातायात कार्यालय बुटवलमा मात्र अत्याधिक भिडभाड बढेपछी लुम्बिनी प्रदेश यातायात व्यवस्था विभागले पाल्पामा पनि दुई पाङ्ग्रे सवारी साधनको परीक्षाको लागि व्यबस्था मिलाएको हो ।
पाल्पामा २०७५ साल देखी यातायात व्यवस्था सेवा कार्यालय सञ्चालन भएपछि सवारी चालक अनुमतिपत्र नविकरण, सवारीसाधन नविकरण, सवारी साधनको जाँचपास, पञ्जिकरणको काम, पटके सेवा सञ्चालन हुँदै आएको थियो ।