Shittalpati
विपद्मा परेका व्यक्तिको उद्दारका लागि तानसेनमा पूर्व अभ्यास

भरत शर्मा
पाल्पा,
जिल्लाको तानसेनमा विपद् व्यवस्थापन सम्बन्धी कृत्रिम अभ्यास प्रदर्शन गरिएको छ । अहिले बर्खाको समयमा बाढी, पहिरो, सडक दुर्घटना जस्ता विपद्का घटना बढी हुने भएकाले विपद् व्यवस्थापन सम्बन्धी सन्देशमुलक अभ्यास प्रदर्शनी गरिएको हो ।

प्राकृतिक र मानव सिर्जित बाढी पहिरो, आगलागी, सडक दुर्घटना जस्ता विपद्का घटना कसरी हुन्छ ? यसबाट कसरी बच्न सकिन्छ ? समयमा कसरी व्यवस्थापन गर्ने र राहत उद्धार गर्ने जस्ता विषयमा अभ्यास गरिएको थियो । जिल्ला विपद् व्यवस्थापन समितिको संयोजकत्व, दि फेमस महिन्द्र दल गणको अगुवाइ नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल रेडक्रस सोसाईटी पाल्पा, पाल्पा अस्पताल, स्थानीय तह विपद् व्यवस्थापन सेलको सहकार्यमा विपद् व्यवस्थापन सम्बन्धी ५ दिने एकिकृत ‘हातेमालो अभ्यास’ गरिएको हो ।

 असार १८ गतेदेखि तानसेन नगरपालिका– ३ तानसेन–तम्घास सडक क्षेत्रको अप्पु भिलेजस्थित वनदेवी  क्षेत्रमा अभ्यास प्रदर्शन गरिएको थियो । वर्षा, पहिरो, सडक दुर्घटनाका कारण घाइते भएका, पुरिएका, भिर खोच तथा मानिसहरु सजिलै जान नसक्ने अवस्थामा घाइतेको सुरक्षित तरिकाबाट उद्दार गर्ने उद्देश्यले सुुरक्षाकर्मी, रेडक्रसकर्मी तथा स्वास्थ्यकर्मीले पूर्व अभ्यास गरेका हुन् । उक्त क्षेत्रमा सर्वसाधारण तथा यात्रुहरु के नै भए छ भनि हेर्न पुग्नेको भिडभाड बढेको थियो । मानिसहरुले निकै चाख दिएर सेना, प्रहरीले गरेका गतिविधी अवलोकन गरेका थिए ।

त्यहाँ भिर तथा खोचमा फसेका घाइते व्यक्तिहरुलाई व्यवस्थित तरिकाबाट डोरीरसीको माध्यमबाट उद्दार गरिएको थियो । भिरमा फसेका व्यक्तिहरुलाई डोरीको माध्यमबाट नेपाली सेनाका जवानहरुले उद्दार गरी प्राथमिक उपचारसहित अस्पतालमा पु¥याएका थिए । विपद् प्रदर्शनमीमा उच्च पहाडी क्षेत्रको खोच तथा अग्ला पहाडमा फसेका व्यक्तिहरुलाई निश्चित भू–भाग वा रुख, पक्की चट्टानमा बलियो रसी वा डोरी बाधेर फसेका व्यक्तिहरुलाई उद्दार गरिएको थियो । खोचमा फसेका व्यक्तिलाई छिटो भन्दा छिटो उद्दार गर्न भिरालो भागमा समेत डोरीको माध्यमबाट छिटो उद्दार गरिएको अवस्था सर्वसाधारणलाई देखाइएको थियो ।

प्रर्दशनमा उद्दारमा खटिएका सुरक्षाकर्मीहरु मध्ये केही रसीको सहायताबाट घटना स्थलसम्म पुग्ने र घाइतेको उद्दार गरी प्राथमिक उपचार स्थलसम्म ल्याई एम्बुलेन्समार्फत अस्पताल पुर्‍याउने व्यवस्था गरिएको थियो । अर्काे तर्फ डोरीको माध्यमबाट एक स्थानबाट अर्काे स्थानमा झुण्डाएर घाइतेलाई एक्लै वा उद्दारकर्तांसँग सँंगै पठाएर खोच तथा पहाडमा फसेका व्यक्तिहरुलाई उद्दार गरिएको थियो । यो प्रक्रियाबाट खोच तथा भिरमा फसेका व्यक्तिलाई घटना स्थलको अवस्था हेरिकन तल माथि दुबै तर्फ घाइतेलाई उद्दार गर्न सकिने गरी प्रदर्शनमा देखाइएको थियो ।

बाढी पहिरोमा फसेका व्यक्ति, सडक दुर्घटनामा परी अफठ्यारो भिरमा फसेका व्यक्ति,घाँस दाउरा गर्न जादा भिरमा अड्किएका व्यक्तिहरुको सुरक्षित उद्दार कसरी गर्ने भन्ने अभ्यास उक्त क्षेत्रमा गरिएको  थियो । घटनाबाट प्रभावितलाई खोजतलास तथा उद्दार कार्यलाई छिटो छरितो र प्रभावकारी ढंगले अघि बढाउन सघाउ पुर्‍याउने उद्देश्यले ‘हातेमालो अभ्यास’ गरिएको दि फेमस महेन्द्र दल गणका गणपति बालमुकुन्ददेव विष्टले बताए ।

संयुक्त अभ्यासले उद्दारमा खटिएका सुरक्षाकर्मीको मनोवलवल उच्च हुनुका साथै सामुहिक उद्दार कार्यमा खटिदा कार्य क्षमतामा अभिवृद्धि हुनुुको साथै व्यवहारिक ज्ञान समेत हासिल हुने अभ्यासमा सहभागी नेपाल रेडक्रसका सोसाइटीका कार्यकारी निर्देशक विनोद भारतीले बताए । अभ्यासमा पुुगेका प्रमुख जिल्ला अधिकृत बन्धुप्रसाद बास्तोलाले जुनसुकै बेला पनि प्राकृतिक विपद् आउन सक्ने हुँदा त्यसको उद्दारका लागि सुरक्षा निकाय जतिबेला पनि तयार रहनुपर्ने बताए । उनले जिल्लामा आइपर्ने विपद्का समयमा समाधानको लागि जिल्ला विपद व्यवस्थापन समिति पूर्णरुपमा तयार रहेको समेत बताए ।

प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update