Shittalpati
 पाल्पामा एसईई नतिजाको उत्साह

पाल्पा, यस वर्षको एसईई परीक्षाको नतिजा विहीबार प्रकाशित भएको छ । परीक्षाफल प्रकाशन भएसँगै राम्रो नतिजा लिएका विद्यार्थी र विद्यालयहरु उत्साहित भएका छन् भने विगतको तुुलनामा कम नतिजा ल्याएका विद्यार्थी र विद्यालयहरु निराश छन् । पाल्पामा पनि यस्तै अवस्था छ । उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थी र विद्यालयहरुले र्‍यालीसहित उत्साह मनाएका छन् । केही विद्यालयहरुको नतिजा भने विगतको भन्दा सन्तोषजनक नरहेको पाइन्छ । केही विद्यालयको नतिजा सन्तोषजनक नरहे पनि अधिकासंको नतिजा भने राम्रै रहेको छ । समग्रमा हेर्दा यस वर्ष पाल्पाको नतिजा उत्साहजन नै रहेको  राष्ट्रिय परीक्षा बोर्डले प्रकाशित गरेको नतिजामा देख्न सकिन्छ ।

यस पटक यहाँका सामुदायिक विद्यालयहरुको नतिजा अब्बल देखिएको शिक्षा विकास तथा समन्वय पाल्पाले जनाएको छ । पाल्पाले यसपटक चार जीपीए समेत ल्याउन सफल भएको छ । विगतमा यहाँ कुनै पनि विद्यालयका विद्यार्थीले चार जीपीए ल्याउन सकेका थिएनन् । यस पटक भने नीजि विद्यालयका एक विद्यार्थीले ल्याएका छन् । पाल्पा पोलस्टार  सेकेण्डरी स्कुलका एक विद्यार्थीले चार जीपीए ल्याएका हुन् । चार जीपीए सहित १ सय ९ जनाले प्लस ए ल्याएका छन् । यसले पनि जिल्लाको नतिजा विगतको तुुलनामा सुधार उन्मुख र उत्साहजन देखिन्छ । नीजि विद्यालयका एक जनाले चार जीपीए ल्याए पनि समग्रमा सामुदायिक विद्यालयको नतिजा राम्रो रहेको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख महेन्द्र सुवेदीले बताए । 

नतिजा आएसँगै शुक्रबार जिल्लाका केही सामुदायिक विद्यालयहरुले भने उत्साह मनाएका छन् । यहाँका जनता मावि (जेभिटी) र देववाणी संस्कृत तथा साधारण माविले बाजा गाजासहित तानसेन नगर परिक्रमा गरेका थिए । उनीहरुले जिल्लामै उत्कृष्ट नतिजा ल्याउन सफल भएको भन्दै उत्साजनक र्‍याली निकालेका हुन् । र्‍यालीमा विद्यार्थी, शिक्षक, व्यवस्थापन समितिका पदाधिकारी, अभिभावकहरुले एक आपसमा खुसी साटसाट गरेका थिए  । जनता माविले सामुदायिक विद्यालयको छात्रतर्फ जिल्ला प्रथम हुनुको साथै उत्कृष्ट अंक सहित धेरै विद्यार्थी उत्र्तीण गराउन सफल भएको बताएको छ । विद्यालयका शिक्षक रामप्रसाद ढकालले सामुदायिक विद्यालयको छात्रतर्फ ३.९० जीपीए ल्याएर भुवन लम्साल जिल्ला प्रथम भएको बताए । उनका अनुसार विद्यालयका १८ जना विद्यार्थीले ३.६ भन्दा बढी जीपीए ल्याएका छन् । यहाँ गत वर्ष १० जनाले ३.६ भन्दा बढी जीपीए ल्याएका थिए । उता  देववाणी संस्कृत तथा साधारण माविले पनि सामुदायिक विद्यालयको छात्रातर्फ जिल्ला प्रथम भएको बताएको छ । उसले विद्यार्थी ममता भट्टराईले ३.९० जीपीए ल्याएर जिल्ला प्रथम भएको बताएको छ । यहाँका ८ जना विद्यार्थीले ए प्लस ल्याएको विद्यालयले जनाएको छ ।

जिल्लाका सबै विद्यालयको नतिजा रुजु नभए पनि विद्यालयहरुले भने आ–आफ्नै तरिकाले जिल्ला प्रथम भएको दावी गर्दै आएका छन् । सबैको नतिजा रुजुु नभएसम्म जिल्ला प्रथम, दोस्रो भन्न नमिल्ने शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख महेन्द्र सुवेदीले बताए । उनले भने ‘विद्यालयहरुले आफ्नै किसिमले दावी गर्दै आए पनि हामी चाहि सबै नतिजा रुजु गरेर मात्र आधिकारीक रुपमा भन्न सक्छौं, त्यसका लागि कम्तीमा एक हप्ता समय लाग्छ ।’ उनले विगतका तुलनामा पाल्पाको नतिजा सन्तोषजनक रहेको भने बताए । उनका अनुसार पाल्पाबाट  एक जनाले चार जीपीए ल्याएका छन् भने १ सय ९ जना विद्यार्थीले ३.६ देखी माथी जीपीएका साथ ए प्लस  ल्याएका छन्  । २ सय २५ जना विद्यार्थीले ३.२ देखी ३.६ सम्म जीपीए ल्याई ए ल्याएका  छन्  । यस्तै ४ सय ७५ जनाले  २.८ देखी ३.२ सम्म जीपीए ल्याई वि प्लस, ७ सय ४३ जनाले २.४ देखी २.८ सम्म जीपीएका साथ वि, १ हजार २३ जनाले  २ देखी २.४ जीपीए ल्याइ सि प्लस ल्याएका छन् । यस्तै १ हजार १ सय ९९ जनाले  १.६ देखी २ जीपीएका साथ सि,  ५ सय ६१ जनाले १.२ देखी १.६ सम्म जिीपीएका साथ डि प्लस र ४९ जनाले  ०.८ देखी १.६ जीपीएका साथ डि अंक ल्याएका छन् । 

एसइई २०७८ मा  ५२ जनाले ए प्लस, २ सय ५२ जनाले ए, ५ सय ८ जनाले वि प्लस, ७ सय ८२ जनाले वि, १ हजार ३ सय ८१ जनाले सि प्लस, १ हजार २ सय ५१ जनाले सि, ४ सय१३ जनाले डि प्लस, र १ सय २२ जनाले डि नतिजा ल्याएका थिए । एसईई २०७७ मा ४९ जनाले ४ जीपीए, ५ सय ५७ जनाले ३.६ देखी ४ जिीपीए, ८ सय ७१ जनाले ३.२ देखी ३.६ जीपीए, १ हजार ३ सय १४ जनाले २.८ देखी ३.२ जीपीए ,१ हजार ५ सय ५५ जनाले २.४ देखी २.८ जीपीए, ५ सय ५९ जनाले २.० देखी २.४ जीपीए र २८ जनाले १.६ देखी २ जीपीए प्राप्त गरेका थिए । २०७७ मा  कोरोना सक्रमणको कारण  विद्यालयले नै कक्षा १० को आधारमा विद्यार्थीको नतिजा राष्ट्रिय परिक्षा बोर्डमा पठाएका थिए । पाल्पामा यस बर्ष ४ हजार ४ सय २५ जनाले परीक्षाको फारम भरे पनि ४९ जना अनुपस्थित रहेका थिए ।

प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update