Shittalpati
एसईई नतिजाको सन्देश

माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा बिहीबार प्रकाशित भएको छ । परीक्षा भएको झण्डै ३ महिनापछि  नतिजा प्रकाशित भएको हो । स्तरीकृत अंक (जीपीए)को हिसाबमा विगतको भन्दा नतिजा सुधार देखिन्छ । २२ हजार ४ सय ७५ जना विद्यार्थीले सर्वोत्तम अर्थात् ३.६० देखि ४.० जीपीए ल्याउन सफल भएका छन् । कुल ४ लाख ८४ हजार ९ सय ९३ जना विद्यार्थीमध्ये ४.६३ प्रतिशतले उक्त जीपीए ल्याए । जबकि गत वर्ष कुल मध्ये १.९४ प्रतिशतले उक्त जीपीए ल्याउन सफल भएका थिए । तुलनात्मक रुपमा पनि नतिजा सुधार भएको हो । ३.२ देखि ३.६ जिपिए ल्याउने विद्यार्थीहरु भने ५५ हजारभन्दा बढी छन्, जुन ११.३६ प्रतिशत हुन आउँछ । २.८ देखि ३.२ जिपिए ल्याउने ७२ हजार बढी र २.४ देखि २.८ जिपिए ल्याउनेको संख्या ८९ हजार बढी छ । २ देखि २.४ जिपिए ल्याउनेहरुको संख्या सबैभन्दा धेरै छ । नतिजा पुरानो निर्देशिका (२०७२) अनुसार नै आएको छ । सरकारले धेरै विद्यार्थी ननग्रेडिङमा पर्ने भयले पुरानै निर्देशिका अनुसार नतिजा प्रकाशन गरेको हो । उक्त निर्देशिकाले न्यून ग्रेड ल्याएका विद्यार्थीलाई पनि कक्षा ११ मा भर्ना हुन ढोका खुल्छ । 

गत वर्ष कक्षा १२ को नतिजा नयाँ निर्देशिका अनुसार प्रकाशन गर्दा करिब ५० प्रतिशत विद्यार्थी स्नातक तहमा भर्नाका लागि अयोग्य भएका थिए । नयाँ निर्देशिकामा सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत अंक नल्याए ननग्रेडिङमा पर्ने प्रावधान छ । पुरानो निर्देशिकामा भने दुवैतर्फको नम्बर जोडेर एकमुष्ट राख्ने व्यवस्था छ । प्रयोगात्मक अंक नदिएकै कारण गणितमा सबैभन्दा धेरै विद्यार्थीको न्यून ग्रेड आएको पाइन्छ तर स्वास्थ्य÷जनसंख्या पछि ‘ए प्लस’ ग्रेड ल्याउने विद्यार्थी गणितमा नै धेरै छन् । अहिलेको अवस्थामा २५ पूर्णाङ्कको प्रयोगात्मक नम्बर पाउने विषयतर्फ सबैभन्दा बढी विज्ञानमा न्यून ग्रेड प्राप्त विद्यार्थी छन् । यसको अर्थ प्रयोगात्मकमा धेरै अंक पाउँदा पनि विज्ञानको लिखित परीक्षामा भने विद्यार्थी कमजोर देखिन्छन् । परीक्षा प्रणाली विगतका तुलनामा सरल बन्दै गएको छ । यद्यपि त्यसमा कतिपय कमजोरीहरु भने छन् । ग्रेडिङ पद्धतिमा गएपछि परीक्षाको महत्वसमेत कम भएको छ । यो सोचनीय छ । परीक्षा दिएका सबैजसोलाई कमजोर नै रहे पनि उत्तीर्णको गराइनुले विद्यार्थीले गर्ने मेहनतमा समेत कमी आउने गरेको छ । एसईई विगतको जस्तो ‘आइरन गेट’को रुपमा समेत नरहेको प्रस्टै छ । त्यसैले पछिल्ला एसईईका नतिजाले समेत विद्यार्थीहरुले मेहनत त्यति धेरै गर्न छोडेका छन् । यसर्थ जुनसुकै परीक्षाहरु प्रतिस्पर्धात्मक हुनुपर्छ, त्यसलाई त्यहीअनुरुप सुदृढ र परिपक्व बनाउनुपर्छ भन्ने सन्देश एसईईको नतिजाले दिन्छ ।

प्रकाशित मिति: शनिबार, असार २३, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update