Shittalpati
जेष्ठ नागरिकलाई घरमै पुगेर सम्मान

वालिङ, स्याङ्जाको वालिङ नगरपालिका–८ ले चौरासी वर्ष पूरा भएका जेष्ठ नागरिकलाई बुधबार सम्मान गरेको छ । वडा अध्यक्षसहित जनप्रतिनिधि तथा कर्मचारीले जेष्ठ नागरिकको घरदैलोमै पुगेर सम्मान गरेका हुन् । जेष्ठ नागरिकलाई वडाबाट सम्मानस्वरुप यस वर्ष झुल, ‘हर्लिक्स’ र फलफूल उपलब्ध गराएको वडाअध्यक्ष दामोदर तिवारीले बताए । ‘

समाजका अभिभावककारुपमा रहेका जेष्ठ नागरिकलाई सम्मानस्वरुप झुल, हर्लिक्स र फलफूल घरघरमै पुगेर उपलब्ध गराएका हौँ’, उनले भने, ‘घरघरमै पुग्दा जेष्ठ नागरिकको अवस्थाका बारेमा जानकारी लिनुका साथै उनीहरुको अनुभव तथा सुझाव पनि संकलन गर्न पायौँ ।’ वडावासीको सुख दुःखमा वडा कार्यालय वा जनप्रतिनिधिहरुसँगै छन् भन्ने अनुभूति दिलाउनका लागि पनि नागरिकको घर दैलोमै पुगेर उक्त सामग्रीहरु उपलब्ध गराएको उनले बताए ।

जेष्ठ नागरिकलाई लक्षित गरी विगतका वर्ष स्वास्थ्यकर्मीसहित घरमै पुगेर स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरेको वडा सचिव प्रेमनारायण सुवेदीले बताए । वडा कार्यालयका अनुसार चौरासी वर्ष पूरा भएका २८ जेष्ठ नागरिक छन् । ‘वडाको तथ्याड्ढमा रहेका २८ जनामध्ये हाल वडाभित्रै बसोबास गरेका २२ जनालाई सम्मानस्वरुप उक्त सामग्री उपलब्ध गराएका हौँ’, वडा सचिव सुवेदीले भने । मत दिएर जिताएका जनप्रतिनिधि घरदैलोमै आएर सम्मान गर्दा खुसी लागेको वालिङ–८ कँडेलगाउँका पूर्णचन्द्र कँडेलले बताए । ‘जनप्रतिनिधिले बूढा भएर बसेका वृद्धवृद्धालाई घरघरमै आएर भेट्ने, दुःखसुखका कुरा सुन्ने गर्नु राम्रो पक्ष हो’, उनले भने, ‘आफ्नै दैलोमा जनप्रतिनिधिबाट सम्मानित हुन पाउनु एउटा सुखद अवसर हो ।’ वडा कार्यालयले वृद्धवृद्धालाई ख्याल गर्दै वर्षैपिच्छे फरक कामलाई निरन्तरता दिँदै जानुपर्ने उनले सुझाव दिए ।

प्रकाशित मिति: शनिबार, असार २३, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update