तानसेन, जिल्लाको रम्भा गाउँपालिका –३ का ५२ वर्षीय मृगौला पीडित राजेश चितौरे रानालाई विभिन्न व्यक्तिहरुले उपचारका लागि आर्थिक सहयोग गरेका छन् । पाल्पा श्रीनगर समाज हङकङको सहयोग र समाजका अगुवा वसन्त श्रीनेतको सक्रियतामा सकंलित एक लाख ५८ हजार २ सय मृगौला पीडित रानालाई सहयोग गरिएको हो ।
उक्त सहयोग रकम शनिबार तानसेनस्थित नेपाल भूतपूर्व सैनिकको भवनमा एक औपचारिक कार्यक्रमका बिच हस्तान्तरण गरिएको छ । समाजका सदस्यहरूबाट सकंलित रकम लुम्बिनी प्रदेशका पूूर्व उर्जामन्त्री तथा प्रदेश सांसद वीरबहादुर रानाले पीडित परिवारलाई हस्तान्तरण गरेका हुुन् । सहयोग रकम हस्तान्तरण सांसद रानाले समाजका सदस्यहरुले पीडितप्रति देखाएको सहयोग र सद्भावको प्रशंसा गरे । उनले भने ‘दुखमा परेकाहरुलाई सानो भए पनि सहयोग गर्नु मानविय धर्म हो, यस्तो कार्यमा सबैले सक्दो सहयोग गर्नुपर्दछ ।’
सेवा नै धर्म हो भन्ने अभिप्रायले समाजसेवी बलबहादुर राना, खिमबहादुर रानाको पहल र समाजका अगुवा वसन्त श्रीनेतको सक्रियतामा विभिन्न देशमा रोगजारी गर्नेहरुलाई सहयोग गर्न आग्रह गरेपछि रकम संकलन भएको नेपाल मगर संघकी नेतृ शान्ति झेडी थापाले जानकारी दिइन् । मृगौला पीडित रानाको दिल्ली म्याक्स अस्पतालमा उपचार भइरहेको छ ।
आर्थिक अभावले उपचार गर्न समस्या भएपछि पीडित परिवारले आर्थिक सहयोगका लागि याचना गरिरहेका छन् । उपचारमा धेरै रकम लाग्ने भएपछि उनीहरु समस्यामा परेका हुन् । प्राप्त सहयोगले उपचारका लागि केही भए पनि राहत मिल्ने पीडित परिवारले बताएको छ । परिवारले रकम संकलन गरी सहयोग गर्ने सम्पूर्ण सहयोग दाताहरुलाई धन्यवाद दिएको छ । घरको आर्थिक अवस्था कमजोर भएपनि सहयोग रकम संकलन हुन थालेपछि रानालाई बाच्ने आशा पलाएको परिवारले बताएको छ ।