जनार्दन घिमिरे (रासस)
गुल्मी, गुल्मीको रुरुक्षेत्र गाउँपालिका–३ अन्तर्गत थोर्गा च्युरेकको लिची गाउँका किसान व्यावसायिक लिची उत्पादनमा लागेका छन् । यस क्षेत्रमा प्रमुख नगदे फलफूल बालीको रुपमा लिची मानिन्छ । यहाँका कृषकले आजभोलि परम्परागत रुपमा गर्दै आएको मकै खेतीलाई छोडेर मकै लगाउने बारीमा लिचीका बोट लगाउँदै आएका छन् ।
बारीका डिल र छेउछाउका बगैँचामा बोटै भरि राताराता दाना लिची लटरम्म फलेका देखिन्छन् । बोटमा पाकेका राता दानाले सिङ्गो गाउँ नै यतिबेला राताम्य देखिएको छ । कृषकलाई बोटमा भ¥याङ ठड्याएर पाकेका लिचीका दाना टिप्न भ्याइनभ्याइ छ । आजभोलि थोर्गा गाउँमा पुग्ने व्यक्ति बगैँचा वरिपरि घुम्ने, तस्बिर खिच्ने र टिकटक बनाउनमा व्यस्त देखिन्छन् । लिची खेती गर्न थालेपछि आम्दानी मनग्य हुन थालेको र जीविकोपार्जनमा सहज भएको यहाँका किसान बताउँछन् । गाउँमा एक घरमा न्यूनतम दशदेखि एक सयसम्म लिचीका बोट रहेको स्थानीय सामाजिक अगुवा घनश्याम ज्ञवालीले बताए । उनका अनुसार यहाँका कृषकलाई जीविकोपार्जनका लागि लिची मुख्य आम्दानीको स्रोत बनेको छ । ‘व्यापारी लिची लिन कृषकको बारीमै पुग्छन् । यहाँको लिची गुलियो र स्वादिलो भएका कारण बजारमा थोर्गा र च्युरेकको लिची भनेपछि उपभोक्ताले पनि खोजी खोजी किन्ने गरेका छन्’, उनले भने । ज्ञवालीका अनुसार यहाँ उत्पादन गरिएका लिची गुल्मीको सदरमुकाम तम्घासदेखि रिडी, पाल्पा र बुटवलको बजारसम्म पुग्ने गर्दछ । यस क्षेत्रका एक सयभन्दा बढी कृषक व्यावसायिक लिची उत्पादनमा लागेको उनले जानकारी दिए । स्थानीय कमल ज्ञवाली, ओम ज्ञवाली, मोतीराज ज्ञवाली, परमानन्द ज्ञवाली, कृष्ण विक, युवराज ज्ञवाली लिचीका व्यावसायिक कृषक हुन् । कृषक कृष्ण विकले लिचीबाट सबैभन्दा बढी आम्दानी गरिरहेका छन् । उनले वार्षिक दुई लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् ।
विगत चार वर्षको तुलनामा यस पटक धेरै लिची फलेको स्थानीय परमानन्द ज्ञवालीले बताए । ‘पछिल्लो समयमा लिचीमा समस्या देखिएको छ । बोटमा पात डल्लो पर्ने, दानाको भेट्नामा किरा लाग्ने, पाक्ने बेला दाना फुट्नेजस्ता समस्या देखिएको छ’, उनले भने । बाँदर र अरिङ्गालबाट लिची जोगाउन समस्या भइरहेको स्थानीय राधिका ज्ञवालीले बताइन् ।
गाउँबाट लिची बिक्री वितरण गरी यहाँका किसानले वार्षिक एक करोड ५० लाखसम्म कारोबार गरिरहेको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले जानकारी दिए । व्यावसायिकरुपमा लिची उत्पादनलाई थप व्यवस्थित र आकर्षित गराउन केन्द्रले बगँैचाको व्यवस्थापनमा जोड दिएको उनले बताए । आगामी वर्षदेखि ज्ञान केन्द्रले अभियानको रुपमा बगैँचा सुदृढीकरण कार्यक्रम सञ्चालन गर्ने भण्डारीले जानकारी दिए । सन् १९९१ मा समाजसेवी स्व. पण्डित डिल्लीराम ज्ञवालीले भारतको कलकत्ताबाट बोकेर ल्याएको लिचीको बोट लगाएर च्युरेकमा उनले लिची खेतीको सुरुआत गरेका थिए । उनकै प्रेरणाले सुरुमा खानको लागि बोट रोप्दै जाने क्रममा अहिले च्युरेक क्षेत्र सिङ्गो लिची गाउँमा परिणत भएको छ । बगैँचाबाट प्रतिकिलो ७० मा लिची बिक्री हुँदै आएको छ ।
बोटमा लिची हरिया छँदै व्यापारी घर–घरमा पुगेर थोक मूल्यमा किनेर राख्ने गरेका किसान बताउँछन् । तत्कालीन अवस्थामा जिल्ला कृषि विकास कार्यालय गुल्मीले थोर्गाको च्युरेकमा लिची गाउँ घोषणा गरी लिची महोत्सवसमेत गरेको थियो । कार्यालयका तत्कालीन वरिष्ठ कृषि विकास अधिकृत नरहरि शर्मा घिमिरेले पहिलोपटक गाउँमा लटरम्म फलेका लिचीका राता बोट देखेपछि उक्त गाउँलाई लिची गाउँ घोषणा गरेका थिए । कार्यालयले लिची गाउँ घोषणा गरेर व्यावसायिक लिची खेती गर्न सहयोग गरेपछि यहाँका कृषक लिची उत्पादनतर्फ थप आकर्षित बनेका हुन् । हाल जिल्लामा एक सय ७० हेक्टर क्षेत्रफलमा लिची उत्पादन गरिँदै आएकोमा यस वर्ष सात सय २० मेट्रिक टन लिची उत्पादन भएको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ ।