Shittalpati
ललिता निवास प्रकरण : थप तीन पक्राउ

पाल्पा, ललिता निवास जग्गा प्रकरणमा जोडिएका थप तीन आरोपित पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत, समरजंग कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे र नापी सर्वेक्षक ध्रुवप्रसाद अर्याललाई पक्राउ गरेको हो ।

राउतलाई काठमाडौंबाट विराटनगर जाने क्रममा त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ । ललिता निवास जग्गा हिनामिना प्रकरणमा मुछिएका उनलाई प्रहरीले यसअघि नै पक्राउ पुर्जी लिइसकेको थियो । २०६६÷०६७ ताका प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुखको निवास विस्तार गर्ने नाममा भूमाफियाको योजनाअनुसार अगाडि बढेको सट्टाभर्ना सम्बन्धी निर्णयमा राउत शाखा अधिकृत हुँदा टिप्पणी उठाएका थिए । त्यही टिप्पणी सहसचिव, सचिव, मन्त्री हुँदै तहगत रुपमा सदर गरेर मन्त्रिपरिषद्मा पु¥याइएको थियो ।

 यस्तै पक्राउ परेका घिमिरेले समरजंग कम्पनीका प्रमुखको रुपमा रहेको बेलामा सरकारी जग्गा दाबी गर्नुपर्ने समयमा दाबी नगरेका कारण हिनामिनामा उनको पनि संलग्नता रहेको प्रारम्भिक अनुसन्धानमा देखिएपछि प्रहरीले पक्राउ गरेको हो । अर्यालचाहिँ नापी अधिकृतको रुपमा जग्गा नापजाँचमा संलग्न रहेको बुझिएको छ । सीआइबी श्रोतका अनुसार पक्राउ परेका थप तीन जनासहित ललिता निवास प्रकरणमा १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  जस मध्ये तीन जना अदालतको आदेशका कारण पक्राउ परेपछि छुटे । यो प्रकरणमा सार्वजनिक पदधारण गरेका झण्डै डेढ सयभन्दा बढी पदाधिकारी र कर्मचारीहरु जोडिएका छन् । यो प्रकरणमा ५ पूर्वसचिवसहित ४ सयभन्दा बढी विरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ । 

विसं २०४९ देखि २०६९ सम्ममा सरकारको स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी भएको फेला परेपछि उक्त प्रकरणमा सिआइवीले अनुसन्धान गरिरहेको छ । यसअघि तीन सय जनालाई प्रतिवादी बनाएर ब्यूरोले जिल्ला सरकारी वकिलको कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको थियो । तर सरकारी वकिलको कार्यालयले थप अनुसन्धान गर्नुपर्ने जनाउँदै फाइल फिर्ता पठाएको थियो । त्यसपछि अनुसन्धान जारी रहेको बताए पनि थप प्रगति भएको थिएन । दुई वर्षअघि सरकारी कागजात किर्तेको आरोपमा अनुसन्धान अघि बढे पनि मुद्दा दायर हुन सकेन । त्यतिबेला रोकिएको फाइल अहिले आए अघि बढेको हो ।
 

प्रकाशित मिति: आइतबार, असार २४, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update