केही महिना अघि पाल्पाका पशुहरुमा देखिएको ‘लम्पी स्किन रोग’को संक्रमण अहिले देशका अधिकासं जिल्लाहरुमा डरलाग्दो रुपमा देखिएको छ । दुई महिनाअघि ३५ जिल्लाका १५ हजार पशुमा देखिएको यो रोगको विस्तार दर डरलाग्दो देखिएको छ । संक्रमणका कारण १० हजार भन्दा बढी पशु मरेको पशु सेवा विभागले जनाएको छ । गत चैतको मध्यबाट फैलिन सुरू गरेको यो रोग अहिले देशका धेरै भागमा पुगिसकेको छ ।
गाईवस्तुमा लाग्ने लम्की स्किन रोगको संक्रमण दिन प्रतिदिन भयावह हुँदै गर्दा त्यसले अहिले चिन्ताजनक अवस्था समेत निर्माण गर्न पुगेको देखिन्छ । यतिबेला देशभरका झण्डै १५ हजार गाईले यसको संक्रमणमात्रै भोगिरहेका छैनन्, हजारौंको संख्यामा गाईहरु मर्न बाध्य भैरहेका पनि छन्, जसका कारण गाईपालक किसानहरु भने ठूलो मारमा परिरहेका छन् । सुरूमा यो रोग देखिएकै अवस्थामा रोकथाम तथा उपचारमा पर्याप्त ध्यान दिइएको भए हाल देशका आधाजसो जिल्लाहरुलाई त्यसले प्रभाव पार्न सक्ने अवस्था आउने थिएन । यसतर्फ न सरकारको ध्यान जान सकेको छ न त सम्बन्धित निकायको नै । यो रोगको कारण किसानले ठूलो नोक्सानी व्यहोर्न परेको छ । दूधमा आत्मनिर्भर उन्मूख भइसकेको नेपाल पुनः ठूलो मात्रामा दूध आयात गर्नुपर्ने अवस्थामा पुग्नुमा यो रोग पनि एक महत्वपूर्ण कारण हो । भाइरल रोग भएकाले यसको कुनै ठोस उपचार छैन । रोग निको हुन लामो समय लाग्ने र रोग निको भएका गाईहरूमा दूध उत्पादन नबढ्दा किसानहरूले उत्कृष्ट भनिएका गाईहरू हटाउनु परेको छ ।
यो रोग लागेर मरेका पशुहरूको उचित तरिकाले गाड्ने वा जलाउने कार्य छिटोभन्दा छिटो गर्नुपर्दछ । आफ्नो फर्ममा यो रोग भित्रन नदिन विश्वसनीय स्रोतबाट मात्र गाईभैँसी खरिद गर्नुपर्दछ । यो रोग लागेर गाई हटाएको स्थानमा कम्तिमा २१ दिनसम्म पुनः नयाँ गाई राख्न हुँदैन र नयाँ गाई राख्नुपर्दा पनि कम्तिमा २८ दिन पहिले यो रोग विरुद्धको खोप लगाएको गाईहरू मात्र खरीद गर्नुपर्दछ । त्यस्तै किसानले जैविक सुरक्षालाई विशेष ध्यान दिने, गोठलाई झिङ्गा, लामखुट्टे तथा अन्य किराबाट मुक्त राख्ने, सरसफाइमा जोड दिने गर्नुपर्ने हुन्छ । रोग लागेर गाईहरु मर्दै गरेको अवस्थामा समेत पर्याप्त मात्रामा पशु प्राविधिकहरुको उपस्थितिको अभाव भने अहिलेको खड्किएको विषय हो । यसतर्फ स्थानीय, प्रदेश र संघीय सरकारले ध्यान दिन जरुरी छ ।