Shittalpati
वडाबाटै सामाजिक सुरक्षा भत्ता, गाउँ–गाउँमा सरकारको अनुभूति गर्न थाले वृद्धवृद्धा

पाल्पा, देश संघीय संरचनामा गएसँगै ‘सिंहदरबारका अधिकार, गाउँ–गाउँमा’ भन्ने बहस चल्यो । निर्वाचन भएर स्थानीय तहमा जनप्रतिनिधि आएपछि ‘सिंह’ आए, तर ‘दरबार’ आएनन्, भनि व्यङ्ग्य समेत हुँदै आयो । स्थानीय सरकारको पहिलो कार्यकाल सकिएर दोस्रो कार्यकाल समेत चलेको छ । यो अवधिमा धेरै स्थानीय सरकारले जनअपेक्षा अनुसार काम गर्न सकेका छैन । जसले गर्दा सिंहदरबारको व्यङ्ग्य अझै पनि धेरै ठाउँमा लागु छ । यद्यपी केही स्थानीय तहले भने जनताको समस्यालाई बुझेर काम गरेका छन् । 

पाल्पाका केही स्थानीय सरकारले पछिल्लो समय वृद्धवृद्धाहरुले भोग्दै आएका समस्याप्रति चासो देखाएका छन् । पछिल्लो समय यहाँका बगनासकाली गाउँपालिका र माथागढी गाउँपालिकाले वृद्धवृद्धाहरुलाई वर्षौदेखि सामाजिक सुरक्षा भत्ता बुझ्न नै महाभारत हुँदै आएको अवस्थामा वडामै पुगेर भत्ता दिन थालेका छन् । गाउँ घरबाटै भत्ता पाउन थालेपछि जेष्ठ नागरिक उत्साहित भएका छन् । माथागढी गाउँपालिका–७ का पहलमान थापा उमेरले ८५ लागे । उनलाई सामाजिक सुरक्षा भत्ता बुझ्नै महाभारत हुन्छ । घरबाट गाउँपालिकाको कार्यालय झडेवा पुग्नै ३ घण्टा लाग्छ । वर्षौदेखि वृद्ध भत्ता बुझ्न गाउँपालिका नै पुग्नुपर्ने बाध्यताले सेवाभन्दा बढी सास्ती हुन्छ । तर अहिले यी समस्याबाट उनी जस्ता हजारौं लक्षित व्यक्तिले छुटकारा पाएका छन् । गाउँपालिकाले वडाबाटै भत्ता बाँड्न थालेपछि नागरिकलाई सास्ती कम भएको छ ।’ बुढेसकालमा धेरै सहज भयो, दुई खुड्किलो टेक्दा वडा कार्यालय पुगिन्छ, त्यहीबाट भत्ता पाउन थालेको छु’ थापा भन्छन्, ‘टाढा हुँदा न बैंकबारे केहि बुझिन्थ्यो न भत्ता लिन जानै सजिलो थियो, सबै सास्ती कम भयो ।’ माथागढीकै केशव राना अपाङ्ग छन् । उनको शारीरिक दुर्बलताले उनले पाउने सामाजिक सुरक्षा भत्ता लिनै सधैं कष्ट हुन्थ्यो । वरपरका छिमेकीको सहयोगमा बोकेरै उनलाई लैजानुपथ्यो । तर वडाबाटै भत्ता वितरण सुरु भएपछि अहिले राहत मिलेको छ । अहिले वडाबाटै बाँड्न थालेपछि गाउँपालिकाको कार्यालय धाउनुपर्ने बाध्यता कम भएको राना बताउँछन् । 

गाउँपालिकाले आफ्ना नागरिकलाई वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ । नागरिकको सेवालाई सहज बनाउने उद्देश्यले वडाबाटै भत्ता वितरण गरिएको हो । भौगोलिक विकटताका कारण बैंकिङ सेवा र गाउँपालिका केन्द्रसम्म कष्टकर यात्रा गरी धाउनुपर्ने सास्तीलाई कम गर्न स्थानीयस्तरबाटै भत्ता वितरण गर्न थालिएको सामाजिक विकास समितिका संयोजक तथा वडा १ वडा अध्यक्ष राजकुमार पन्थीले बताए । गाउँपालिका पञ्जिकरण सेवा ईकाईको आयोजना तथा नेपाल ईन्भेष्मेण्ट मेघा बैकको समन्वयमा पालिकाले वडामा  पुगेर समुदायस्तरा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ । यातायातको पहुँच कम भएका वडाहरु वडा ४, ५, ६, ७ र ८ वडाका टोलबस्तीमै पुगेर अहिले भत्ता वितरण गरिएको पन्थीको भनाई छ । उनका अनुसार छिट्टै वडा १, २ र ३ का वडामा पुगेर घुम्तीमार्फत भत्ता वितरण गरिने छ । यस्तै बगनासकाली गाउँपालिकाले पनि वडाबाटै सामाजिक सुरक्षा भत्ता बापतको रकम वितरण थालेको छ । गाउँपालिकाले चालु आवको पहिलो त्रैमासिकदेखि नै वडातमै पुगेर सामाजिक सुरक्षा वितरण थालेको हो । 

बैंकमा घण्टौं लाइन बसेर टाढाबाट भत्ता लिन जान कठिन परेको बेला वडाबाटै भत्ता बुझ्न पाएपछि  वृद्धवृद्धाहरूको उत्साहित भएका छन् । वडा २ पोखराथोकका ७९ वर्षीय हेमलाल नेपालीले वडाबाटै भत्ता बुझ्न पाएपछि निकै उत्साहित भए । उनी भन्छन् ‘निर्वाचनका बेला भोट माग्न आउँदा बृद्ध भत्ता वडाबाट दिन्छौं भन्थे, त्यतिबेला विश्वास लागेको थिएन, अहिले भने निर्वाचनमा मतदातासँग गरेको प्रतिवद्धता अनुसार नै काम सुरु गरेकोमा निकै खुसी लागेको छ ।’मानकुमारी कुमाल पनि वडाबाट भत्ता बुझ्न पाउँदा स्थानीय सरकार घर आँगनमै आएको जस्तो लागेको बताउँछिन् । ‘भत्ता बुझ्नका लागि एक डेढ घण्टा हिंडेर बैंक जानुपथ्यो, बुढेसकालमा आउन जानै समस्या’ उनले भनिन्, ‘अहिले त गाउँपालिका र जनप्रतिनिधिले जेष्ठ नागरिकको मनको कुरा बुझेर होला वडाका गाउँबाटै भत्ता बुझ्ने व्यवस्था गरेका छन् ।’ गाउँपालिकाको चौथो त्रैमासिक सामाजिक सुरक्षा भत्ता वितरण असार २३ देखि साउन ८ गतेसम्म जारी राखेको गाउँपालिकाका एमआईएस अपरेटर भोजराज भट्टराईले बताए । सामाजिक सुरक्षा भत्ता वितरणसँगै गाउँपालिकाले निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रमलाई समेत निरन्तरता दिएको छ । आगामी दिनमा परिस्थितीलाई हेरेर गाउँपालिकाका केही सरकारी सेवा पनि स्थानीय पायक  पर्ने ठाउँमै दिने योजना रहेको पालिकाले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, असार २५, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update