राजनैतिक वृतमा अहिले युवाहरुको आर्कषण दिनप्रति दिन बढिरहदा, देशका ३५ प्रतिशत सक्षम युवाहरु विदेशिने क्रम पनि बढेर गएको अवस्था छ । यस्तो परिस्थितिको सही मूल्याङ्कन गरेर योजना निर्माण हुन नसक्दा मुलुक वृद्धवृद्धाहरुको वासस्थानका रुपमा परिणत हुने खतरा बढ्ने संकेतहरु देखिदैं गएका छन् । राज्यका हरेक नीति निर्माण र योजनामा युवा लक्षित कार्यक्रमले स्थान नपाउने हो भने हामी भूगोल र प्रकृतिका धनी भइरहने र मानव आवास रहित देशका रुपमा विकसित हुने बाहेक केही पनि हुन सक्दैन । तराई, पहाड, हिमाल जस्तो विविधता युक्त हाम्रो मुलुकको पहाडी भू–भागबाट बढ्दो बसाईसराई र वातावरणको क्षयीका कारण पनि यी सबै समस्याहरु उत्पन्न हुने क्रम बढेका हुन् । गत दुई दशक पहिला विकास नभएका कारण पहाडबाट तराई बसाईसराई गर्नेहरुले आज विकासका ठूला योजनाहरु पहाड छिरेको टुलटुल हरिरहेका छन् तर त्यहाँका गाउँहरु भने दिनप्रति दिन खाली भइरहेका छन् । यसका लागि एकिकृत वस्ती र ग्रामीण वातावरणको साना र मझौला किसिमका शहरीकरण गर्नुका साथै स्वरोजगार र उद्यमशीलताका लागि आवश्यक पहल कदम गर्नुपर्ने देखिन्छ ।
परम्परागत रैथाने खेती, पशुपालन र फलफूलको व्यवसायिकतामा जोड दिनुका साथै पहाडको उत्पादनलाई समयमा बजारीकरण गर्ने खालका नीति र बजेट नबन्दासम्म केवल बाटो खन्दैमा बसाईसराई रोकिन्छ र देश बन्छ भन्ने कुरामा लाग्नु आफैमा अत्यान्तै समस्या युक्त अवस्था हो । यसबाट समग्र मुलुकको विकास हुँदैन । भारतीय सीमा क्षेत्र र तराईका भू–भागमा अधिक जनघनत्वको चाप बढ्ने, पहाड अनि हिमालहरु बस्ती रहीत हुने अवस्थाबाट कसरी बच्न सकिन्छ र समग्र मूलकको जनघनत्वको प्रभावलाई तराई, पहाड र हिमाललाई समान किसिमबाट विकास गर्न सकिन्छ भन्ने विषय आजको आवश्यकता हो ।