Shittalpati
ललिता निवासमा मेरो कुनै संलग्नता छैन : पूर्व प्रधानमन्त्री नेपाल 

पाल्पा, पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ललिता निवासमा आफ्नो कुनै पनि संलग्नता नभएको बताएका छन् । उनले ललिता निवास जग्गा काण्डमा आफूले कुनै गल्ती नगरेको र दोषी माथि कडा छानविन हुनुपर्ने बताएका हुन् । 

नेपाल पत्रकार महासंघ पाल्पा शाखाले मंगलबार तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पूर्व प्रधानमन्त्री नेपालले ललिता निवास जग्गा काण्डमा सर्बाेच्च अदालतदेखि अख्तियारसम्मको नाम जोडिएको छ सबैको विषयमा छानविन हुनुपर्छ, मेरो पालामा भएकोले मेरो नाम पनि जोडिएको छ मैले कुनै गल्ती गरेको छैन, मलाई कुनै डर नभएको बताए । हरेक प्रधानमन्त्रीकालमा विभिन्न निर्यणहरु हुन्छन् तर ति निर्यणहरु कसरी भएका छन् भन्ने विषयमा छानविन गरेर दोषी माथि कारवाही गर्नुपर्ने पूर्व प्रधानमन्त्री नेपालले जोड दिए । सरकारले देशभरीका सरकारी जग्गा छानविन गरेर दोषी देखिएका जस्तोसुकै ओहोदाका व्यक्तिहरुलाई पनि कारवाही गर्न सरकारलाई सहयोग गर्ने नेकपा एसका अध्यक्ष नेपालले बताए ।


मुलुकमा व्यवस्था र अवस्था जनताले चाहे अनुसार परिवर्तन हुन नसकेको, व्यवस्थामा थुप्रै समस्याहरु रहेको, संघियता अनुरुप कुनै पनि क्षेत्रमा काम हुन नसकेको र जनताले संघियताको महशुस गर्न नपाएको पूर्व प्रधानमन्त्री नेपालले आफै गुनासो गरे । उनले अहिले गठवन्धन ५ बर्ष सम्म टिक्ने बताए । तपाईको पालो कहिले हो ? प्रधानमन्त्री बन्ने ? पत्रकारहरुको प्रश्नमा जटिले प्रश्न सोधेको भन्दै आपसी छलफलबाट तय हुने बताए । 

मुलुकको विकास निर्माण तथा प्रजातान्त्रिक व्यवस्था ल्याउन पुराना दलहरुको महत्वपूर्ण भूमिका रहेकोले आगामी दिनहरुमा पनि पुरानादलहरुको विकल्प नरहेको पूर्व प्रधानमन्त्री नेपालले जोड दिए । अहिले धेरै व्यक्तिहरुको हतारमा बोल्ने अनि पछुताउने काम भइरहेकोले आफु अहिले हाड नभएको जिब्रोलाई नियन्त्रणमा लिई बोल्दै आएको नेकपा एसका अध्यक्ष नेपालले जोड दिए । 
बजेट निर्माण गर्दा अर्थमन्त्रालय, अर्थमन्त्रीको आफुखुसी गरेकोले सरकारमा सहभागी भएर पनि असन्तुष्टी जनाएको भएपनि सुधार गर्दै लैजाने सहमतीमा पारित गरेको नेकपा एसका अध्यक्ष नेपालले जोड दिए । नेकपा एसका अध्यक्ष नेपालले एमाले प्रति लक्षित गर्दै काम गर्दा ढंग नपु¥याएपछि अर्काे पक्षलाई धारे हात लगाएर केही पनि नहुने बताए । चुनाव भएपछि एमाले प्रमुख सत्ता साझेदार भएर पनि आज आफ्नै बुद्धि र अहंकारले गर्दा प्रतिपक्षमा खुम्चिनु परेको र आगामी दिनमा अझै के–के हुने हो हेर्दै जानुहोला, सरकारलाई गाली गरेर मात्र केही नहुने पूर्व प्रधानमन्त्री नेपालले बताए । पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष भरत शर्माको स्वागत र सचिव यज्ञमुर्ति तिमिल्सीनाको सञ्चालनमा भएको थियो । 
 

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update