यस वर्षको एसईईको नतिजा सार्वजनिक भएको छ । यतिबेला के विषय पढ्ने ? कहाँ पढ्ने ? भनेर उत्तीर्ण विद्यार्थी र तिनका आभिभावकरु सोच्दै छन् । कुन विषय पढ्दा राम्रो हुुन्छ वा जागीर राम्रो पाइन्छ भन्ने कुरामा धेरै विद्यार्थीहरु अन्यौलमै छन् । यसो हुनु स्वभाविक हो । किन भने हाम्रो जस्तो देशमा पढेपछि रोजगारीको ग्यारेन्टी छैन । जसका कारण विद्यार्थीहरु विषय छनौटमा अन्यौल हुनु परेको हो । कसले कति नम्बर ल्यायो उसले त्यही अनुसारको विषय पढ्नुपर्छ भनेर नेपाली समाजले एउटा मानक निर्माण गरिदिएको छ । अब्बल नम्बर ल्याउने विद्यार्थीले विज्ञान, त्यसपछि व्यवस्थापन, त्यसपछि मानवशास्त्र, कानुन वा अन्य केही । नम्बरका आधारमा के पढ्ने भनेर विषय रोज्ने यो ज्यादै गलत, परम्परागत र अवैज्ञानिक शैली हो । यसबाट धेरै विद्यार्थीहरूको क्षमता पहिचान र अभिवृद्धिमा ठूलो चुनौती खडा गरेको छ । विद्यार्थीको रुचिलाई मारेको छ । विद्यार्थीहरुको चाहाना अनुसार विषय छनौट गरिनुपर्छ । विषय जुनसुकै भएपनि त्यही अनुसारको रोजगारको ग्यारेन्टी हुनुपर्छ । जसले गर्दा विद्यार्थीहरुमा के पढ्ने भन्ने विषयमा अन्यौल नै हुँदैन ।
अहिलेसम्म हाम्रो शिक्षाको मापन पास र फेलमा गएर टुंगिएको छ । यसबाहेक शिक्षाको राष्ट्रिय नीति के हो ? त्यसलाई प्राप्त गर्ने माध्यम के हो स्पष्ट छैन । शैक्षिक सत्रको रटान मात्र दिइन्छ । एक शैक्षिक सत्रमा कति जना कुन स्तरको जनशक्ति उत्पादन गर्ने हो ? कुनै योजना छैन । एसईईको नतिजा पश्चात् धेरैजसो नामी विद्यालयले ११ कक्षाको भर्ना सुरु गरिसकेका छन् । पुरानो निर्देशिका अनुसार नतिजा आएकाले धेरै विद्यार्थीले कक्षा ११ मा भर्ना पाउने भएका छन् । तर, भर्ना नै ठूलो कुरा होकि त्यस उप्रान्तको पठन–पाठन पनि पूरा गर्नुपर्ने हो यसको ख्याल गरिएको छैन । एकातिर उपल्लो कक्षामा र खासगरी कलेजतर्फ गएर उत्तीर्ण हुन नसक्नु र अर्कोतिर उत्तीर्ण जनशक्ति पनि काम र मामको खोजीमा अरबतिरै जानुपर्ने अवस्था रहेसम्म हाम्रो शिक्षाले कसैका घरमा चुलो बाल्न नसक्ने देखिन्छ । यस्तो शिक्षा कहिलेसम्म चलाउने ? यसको पूर्वानुमान न सरकारसँग छ न शैक्षिक सत्र बचाउन आत्तुर ती जमातसँग छ । यस वर्षको एसईई नतिजा पहिलेभन्दा राम्रो भएको भनिएपनि अब यत्तिले मात्र हुँदैन । एसईई पढेपछि विद्यार्थीहरुले व्यवहारिक ज्ञान सहित सीपयुक्त शिक्षा लिई स्वरोजगार बन्न सक्नुपर्छ । त्यसका लागि सरकारको गहन जिम्मेवारी रहन्छ । सरकार यो जिम्मेवारीबाट पन्छिन कदापि मिल्दैन । एसईईमा उत्तीर्ण विद्यार्थीहरूको त्यस माथिको शिक्षाका लागि व्यवस्था मिलाउनु र तिनका लागि रोजगारी सिर्जना गर्नु सरकारकै जिम्मेवारी हो । यसर्थ यसतर्फ सरकार गम्भीर बन्न जरुरी छ ।