Shittalpati
लक्ष्मी बैंक र सनराइजले एकीकृत कारोबार गर्दै

पाल्पा, लक्ष्मी बैंक लिमिटेड र सनराइज बैंक लिमिटेडले एकिकृत कारोबार गर्न थालेका छन् । उनीहरु एकापसमा गाभिएर (मर्जर) यही असार २९ शुक्रबारदेखि ‘लक्ष्मी सनराइज बैंक लिमिटेड’का नाममा एकीकृत कारोबार सुरु गर्न लागेका हुन् ।

मर्जरका क्रममा ‘डाटा माइक्रेसन’का लागि हिजोदेखि दुवै बैंकका प्रणाली बन्द गरिएका छन् । दुई दिन बैंकका अरू सबै प्रणाली बन्द भए पनि क्रेडिट कार्ड सुविधा भने चालु रहने बैंकले जनाएका छन् । यी दुई संस्था मर्जरका लागि गत जेठ ८ गते अन्तिम सम्झौता भएको थियो । दुवै संस्थाको असार ३ गतेको साधारणसभाबाट पारित मर्जर सम्बन्धी विशेष प्रस्ताव बमोजिम नेपाल राष्ट्र बैंकले यही असार २२ गते मर्जरको अन्तिम स्वीकृति दिएको थियो । मर्जरपछि कायम हुने बैंकको प्रधान कार्यालय काठमाडौँ महानगरपालिका–१ हात्तीसारमा रहने जनाइएको छ । राष्ट्र बैंकले लिएको ‘बिग मर्जर’ को नीति अनुसार चालु आर्थिक वर्ष २०७९/८० मा मात्र १२ वटा वाणिज्य बैंक एकापसमा गाभ्ने/गाभिने (मर्जर) र प्राप्ति (एक्विजिसन) प्रक्रियामा गएर छवटा कायम भएका छन् । गत पुस महिनामा मात्र आठवटा वाणिज्य बैंक मर्जर र प्राप्तिमा गएका थिए । चालु आर्थिक वर्षको मौद्रिक नीतिले वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरु मात्र नभई पूर्वाधार बैंकलाई पनि मर्जरका लागि बाटो खोलिदिएको थियो ।

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update