Shittalpati
विमानस्थल पुग्नेहरु भक्कानिन्छन्

काठमाडौं, त्रिभुवन विमानस्थल पुग्ने व्यक्ति भावुक नबन्ने कमै हुन्छ । दिनहुँ जसो भीड देखिने विमानस्थलको प्रस्थानतर्फको भाग सधैंजसो भावुक ‘मुड’मा नै हुन्छ । सोमबार त्यहाँ पुुग्दा वैदेशिक रोजगारीमा जानेको लाइनमा उभिएका आफ्ना साथीभाइ, छोराछोरी, र आफन्तजनलाई अंगालेर आँसु खसाल्दै गरेका दुश्यहरु देखिन्थे । 

हाँसोले विदाइ गर्ने बाचा गरेर विमानस्थल पुगेकाहरु विछोडको पीडा सहन नसकेर एकाएक भक्कानिएका थिए । छोरालाई अमेरिका पठाउन धनगढीबाट विमानस्थल पुगेका सुुजन बर्तौंला निकै भावुक मुद्रामा देखिन्थे । जब छोरा बसन्त बर्तौला बुबालाई हात हलाउँदै विमानस्थलको प्रवेशद्धारबाट भित्रिन्छ, तब बुवा सुजन निकै भावुक बन्छन् । उनले गहभरी आँसु लिदै भन्छन् ‘देशमा रोजगारी छैन, के गर्नु पैसा कमाउन कै लागि भए पनि विदेश जानु हाम्रो बाध्यता रह्यो । २१ वर्षको छोरालाई विदेश पठाउँदा नरमालो लागेको छ ।’ अर्घाखाँचीबाट कोरिया जान लागेकी छोरीलाई विमानस्थलसम्म छोड्न पुगेकी ४६ वर्षीया सावित्रा गौतमको अनुहारमा पनि खुसी थिएन । उनी छोरीलाई विदाई गर्दा अंगालो मारेर रोइन् । छोरी मनिषाले मन सम्हादै आमालाई नरुन आग्रह गर्दै विमानस्थल तर्फ प्रवेश गरिन् । छोरी भित्र नजाँदासम्म आमा सावित्राले छोरीलाई बाहिरैबाट भावुक हुुँदै हेरिरहिन । उनीहरु मात्र होइन आफन्त, साथी भाईहरुलाई छोड्न विमानास्थल पुगेका अधिकांसहरुको आखाँ रसाएका देखिन्थे ।

धादिङका उमेश बुढा त्रिभुवन विमानस्थलमा निन्याउरो अनुहार लगाएर उभिएका थिए । कतार जान लागेका उनका खुट्टा काँपेका थिए । नगई सुख पनि छैन, ‘यहाँ त दुःख गर्छु भन्दा पनि गर्न पाइएन,’ सरकारसँग उनको गुनासो थियो । विदेशिने युवाको लाइनमा बस्नु उनका लागि बाध्यता मात्रै हैन, बाँच्ने र परिवारको सपना साकार पार्ने एउटै विकल्प पनि हो । विमानस्थलको प्रस्थानतर्फको भागमा रहेकी दाङकी पार्वती खत्री पनि पहिलो पटक दुुवई जान लागेकी थिइन् । आफ्न्तसँगै विमानस्थल पुगेकी उनी निकै भावुुक देखिन्थिइन् । उनले भनिन्, ‘म पहिलो पटक विदेश जादैँछु, घरमा कमाउने कोही छैनन्, नेपालमा काम पाइँदैन, साहुबाट लिएको तीन लाख ऋण तिर्नकै लागि विदेश हिडेकी हुँ, विदेश गएर ऋण तिरौला भनेर जादैँछु, खाना पकाउने, भाडा धुने काम त म पनि गर्न सक्छु, कमाइ कसो नहोला र !’ कञ्चनपुरका रमेश शर्मा भरखर स्नातक पढ्दै छन् । उनले दोस्रो वर्षको परीक्षा दिए । तर पारिवारिक अवस्था कमजोर भएका कारण उनी पनि मलेसिया जाँन विमानस्थल पुगेका थिए । उनले भने, ‘घरमा कमाउने अरु छैनन्, यहाँ जागिरको खोजीमा धेरै भौँतारिए तर केही काम पाएन त्यसैले बाध्य भएर विदेश जाँदै छु ।’ रोजगारीका लागि विदेश जाने सबैका कथा व्यथा छन् ।

अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थल हुँदै कोही पहिलो पटक कमाउन विदेश जादैँ थिए भने कोही कर्मभूमी विदेशलाई नै बनाएकाहरू थिए । व्यथा फरक भए पनि सबैको एउटै गुनासो थियो । स्वदेशमा रोजगारीका अवसर नै पाइदैन् । नपढेका र थोरै पढेका मात्रै हैनन्, ११/१२ कक्षादेखि स्नाकोत्तर गरेकाहरू पनि रोजगारीका लागि विदेशीन बाध्य छन् । वैदेशिक रोजगारीका सिलसिलामा दैनिक झण्डै तीन हजार युवा विदेश जाने गरेको पाइएको छ । वैदेशिक रोजगार विभागले पछिल्लो समय करिब तीन हजार नेपाली युवायुवती रोजगारीको खोजीमा विदेश जाने गरेको बताएको छ । वैदेशिक रोजगारीमा जाने नेपाली युवाहरूको संख्या पछिल्लो समय बढ्दै गएको छ । दिनप्रति दिन देशमा रोजगार नहुँदा युवावर्ग विदेशिने क्रम बढ्दै गए पनि सरकारले स्वदेशमै रोजगारी सिर्जना गर्ने तर्फ ध्यान दिएको छैन ।

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update