Shittalpati
भानुभक्तको स्मरण

आज असार २९ गते अर्थात् भानु जयन्ती । आजकै दिनमा आदिकवि भानुभक्त आचार्यलाई विशेषरुपमा स्मरण गर्ने गरिन्छ । भाषाको माध्यमबाट राष्ट्रिय एकीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका आचार्यको २१० औं जन्मजयन्ती देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । सरल नेपाली भाषामा लेखिएको भगवान रामको जीवनीलाई भावानुवाद सहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका थिए । उनले लेखेको रामायण अहिले पनि नेपालीका घर–घरमा सस्वर लय हालेर पाठ गरिन्छ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले भौगोलिकरूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेका थिए । महान् स्रष्टालाई स्मरण गरेर उनले भाषासाहित्यको क्षेत्रमा पु¥याएको योगदानको कदर गर्न पनि यस्ता विशेष दिनहरुको महत्व सर्वाधिक रहने गर्दछ । भानुभक्तको योगदान, आदिकवि उपाधि, उनका रचनामा भएको प्रगतिशीलताबारे बेला–बेला कोठे गोष्ठी हुँदै आए पनि पर्याप्त मात्रामा खुला बहस भने हुन सकेको छैन । अहिलेको सन्दर्भमा बहस हुनु आवश्यक छ । हरेक वर्ष जन्मजयन्तीमा भानुभक्तको शालिकमा माल्यार्पण गर्दैमा भानु जयन्तीको महत्व बढ्न सक्दैन ।

संस्कृतको रामायणलाई नेपाली भाषामा अनुवाद गरेर सम्पूर्ण नेपालीहरुलाई एकताबद्ध बनाउँदै भाषिक एकीकरणको सन्दर्भमा भानुभक्तले जुनरुपमा उल्लेखनीय भूमिका खेल्न पुगे, त्यसको महत्वलाई कम आँक्न सकिँदैन । नेपाली भाषाको समृद्धिको सवालमा त्यतिखेर निकै निरीह रहेको नेपाललाई भाषिक मूलधारमा बाँध्न उनको लेखन र त्यसको प्रचार–प्रसारले त्यस समयमा ठूलो हलचल नै ल्याएको थियो, जुन पछि आउने समयका लागि अत्यन्तै प्रभावशाली माध्यम पनि बन्न पुग्यो । तर अहिले भानुभक्तको योगदानलाई सबैले बिर्सिएका छन् । यो अत्यन्त दुखद् कुरा हो । हरेक भानु जयन्तीका दिन सरकारले लेखक÷साहित्यकारहरुप्रति विशेष ध्यान दिइने भने पनि त्यो व्यवहारमा कार्यान्वयन हुन सकेको छैन । आदिकविको सम्मानका लागि सरकारले औपचारिकता बाहेक खासै केही गर्न नसक्नु देशका लागि दुर्भाग्य हो । स्रष्टाहरुलाई योगदान र पहिचानका आधारमा सम्मान गर्ने हो भने औपचारिक कार्यक्रमहरुमात्रै नगरेर आउँदा दिनहरुसम्म पनि जीवन्त बन्न सक्ने महत्वपूर्ण निर्णयहरु लिने र त्यसलाई यथाशीघ्र कार्यान्वयन गरेर देखाउनुपर्ने अहिले आवश्यकता हो । यसर्थ सरकार र सम्बन्धित निकायले आदिकविको स्मरण मात्र होइन उनको सम्मान स्वरुपका  काममा ध्यान दिन जरुरी छ ।

प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update