पाल्पा, आज दिउँसो भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशभर बदली रहनुका साथै सबै प्रदेशमा वर्षाको सम्भावना रहेको हो ।
कोशी र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रहनुका साथै सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कोशी र गण्डकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन चट्याङसहित भारी वर्षा भइरहेको महाशाखाले जनाएको छ । मधेस प्रदेश र लुम्बिनी प्रदेशअन्तर्गत तराई क्षेत्रका थोरै स्थानमा हवाहुरीको सम्भावना रहेको छ ।
यसैबीच महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी जारी गर्दै देशका कतिपय स्थानमा भारी वर्षा र तराई क्षेत्रमा हावाहुरीको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।