प्रत्येक वर्षजस्तै आज विश्व युवा दक्षता दिवस विभिन्न कार्यक्रम गरी नेपालसहित विश्वभरि मनाइँदै छ । सन् २०१४ को डिसेम्बरमा संयुक्त राष्ट्रसंघको साधारण सभाले निर्णय गरेपछि संसारभरका युवाको समाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक आदि पक्षलाई सुदृढ गर्ने उद्देश्यले हरेक वर्ष जुलाई १५ मा यो दिवस मनाउने गरिएको हो । युवाहरुको सामाजिक–आर्थिक अवस्था सुदृढ गर्न यो दिवस महत्वपूर्ण हुने गर्दछ ।
यस दिवसले युवा सहभागितालाई थप सक्रिय गर्ने नवप्रवर्तनात्मक उपाय र युवाको सक्रियताले संसारमै ल्याउन सकिने सकारात्मक परिवर्तनलाई पनि उजागर गर्दछ । विश्वभर बढ्दै गइरहेको बेरोजगारी वा योग्यता अनुसारको रोजगार नपाइने प्रवृत्तिलाई सम्बोधन गर्ने उद्देश्यले पनि यो दिवस मनाउने गरिएको हो भन्दा अत्युक्ति नहोला । आजका युवा नै भोलिका राष्ट्रका कर्णधार हुन् । युवाहरुमा अपार क्षमता रहेको हुन्छ । उनीहरूलाई उचित शिक्ष दिक्षा, रोजगारको व्यवस्था गरी नेपालको शान्ति र समृद्धिमा सरिक गराउनु आजको आवश्यकता हो । युवा दक्षता दिवस मनाउनुको सार्थकता पनि यसैमा छ । मुलुकको आर्थिक, सामाजिक, राजनीतिक र शैक्षिक क्षेत्रमा युवाहरुको सक्रिय सहभागिता रहेको छ । विगतमा युवाका विषयलाई सरकारका नीति, कानुन एवं कार्यक्रमले सही रुपमा सम्बोधन गर्न नसक्दा अवसरको खोजीमा विदेश जाने र उतै पलायन हुने समस्याले मुलुक समस्यामा छ । रोजगार बजारमा उपलब्ध दक्ष र योग्य युवालाई देशभित्र अवसर सिर्जना गर्न नसक्नु, जनशक्तिको माग र शिक्षाबीच सामञ्जस्य कायम हुन नसक्नु जस्ता धेरै कारण युवाहरु बेरोजगार बस्नु परेको छ । यि कुरामा दिवसले हेक्का राख्न सकेको छैन ।
विश्वभर दक्ष कामदारको माग बढेको छ तर नेपालमा दक्ष कामदारहरू ज्यादै कम छन् । सो कारणबाट राजनीतिक विकृति भई भ्रष्टाचार झन् बढेको छ । यसलाई सम्बोधन गर्न पनि युवाहरू दक्ष हुनु आवश्यक छ । दक्ष युवाहरू विदेश पलायन नभई देशमै काम गरेमा भ्रष्टाचारलाई समेत न्यूनीकरण गर्न सकिन्छ । युवाहरुलाई दक्ष बनाउन भन्दै हरेक वर्ष ठूलो मात्रमा रकम खर्च गर्ने गरिन्छ । तर त्यो रकमको सोही उपयोग हुन भने सकेको छैन । यो अत्यन्त दुखको कुरा हो । नेपालमा अझै पनि धेरै युवाहरु दक्ष नभएकै कारण बेरोजगार भएर बस्नु परेको छ । यसलाई दिवसले सम्बोधन भने गर्न सकेको छैन । दिवस औपचारिकतामा मात्र सिमित बन्न पुग्दा धेरै युवाहरु दक्ष हुनबाट बञ्चित हुनु परेको छ । यसर्थ युवा वर्गको क्षमता वृद्धि र विकासका लागि राज्यले प्राथमिकता दिई राष्ट्रिय युवा नीति, कार्यनीति, रणनीति, कार्यक्रम र कार्य योजना बनाई मुलुकलाई आवश्यक मार्ग निर्देशन गर्न सके मात्र युवा दक्षता दिवसले सार्थकता प्राप्त गर्न सक्दछ ।