गुल्मी, गुल्मीलाई ‘पूर्ण खोप’ सुनिश्चितता जिल्ला घोषणा गरिएको छ । एक औपचारिक कार्यक्रम गरी जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको हो ।
१६ देखि २३ महिना उमेर समुहका दुई हजार ६ सय १४ बालबालिकाहरुले लगाउनुुपर्ने सबै खोप लगाएको सुनिश्चित भएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषण गरिएको छ । प्रदेश खोप समन्वय समिति लुम्बिनी प्रदेशका सदस्य सचिव डा. विनोदकुमार गिरिले खोप समन्वय समिति गुल्मीका संयोजक तथा गुल्मी जिल्लाका समन्वय प्रमुख द्रोणबहादुर खत्री पूर्णखोप सुनिश्चितता घोषणाको प्रमाणपत्र प्रदान गरेसँगै गुल्मी विधिवतरुपमा ‘पूर्ण खोप’ सुनिश्चितता जिल्ला घोषणा भएको हो ।
लुम्बिनी प्रदेशमा पूूर्णखोप दिगोपना सुनिश्चतता घोषणा भएको गुल्मी चौथो जिल्ला हो । लक्ष्य अनुसार प्रगति हासिल गर्न, रोग नियन्त्रण, निवारण र उन्मुलनको लक्ष्य प्राप्ति गर्न र दिगोपनाको लागि स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहने जिल्ला खोप समन्वय समितिका संयोजक द्रोणर्बहादुर खत्रीले बताए । कार्यक्रममा ईस्मा गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले घोषणा कार्यक्रम राम्रो भए पनि समाजमा महिला माथि हुने विभेदले गर्भवती महिलाहरुले बेलैमा पोषणयुक्त खान र समयमा खोप सेवा नपाउने अवस्था रहेकाले यसतर्फ कार्यालयको ध्यान जानुपर्ने बताए ।
पूर्ण खोप दिगोपन सुनिश्चतताका लागि रणनीतिक योजना अन्र्तगत प्रभावकारी एवं गुणस्तरीय र नियमित खोप सेवा सञ्चालन, प्रत्येक वर्ष चैत्र महिना भित्र स्वास्थ्यकर्मीको संलग्नतामा घरधुरी सर्वेक्षण, सर्वेक्षण प्रतिवेदनको समीक्षा, विश्लेषण, अभिलेख तथा प्रतिवेदन, खोप सेवाको सुदृढीकरणको लागि सुक्ष्म योजना अध्यावधिक र छुट बच्चाहरुलाई खोप प्रदान गरिने गरेको स्वास्थ्य कार्यालय प्रमुख पशुपति आचार्यले बताए । खोप कार्यक्रममले बिफर रोगको उन्मूलन, बाल मृत्युदरमा उल्लेख्य कमी, सन् २००५ देखि मातृ तथा नवशिशु धनुष्टङकार रोग निवारण, सन् २०१० देखि पोलियो रोग शून्य अवस्था र उन्मूलनको नजिक, जापानिज ईन्सेफलाईटिस रोग नियन्त्रण, सन् २०१८ देखि रुबेला नियन्त्रण, बालबालिकामा हेपाटाईटिस–बी नियन्त्रण साथै खोपद्धारा बचाउन सकिने अन्य रोगहरूमा उल्लेखनीय कमी आएको स्वास्थ्य कार्यालय गुल्मीका जनस्वाथ्य निरीक्षक बोम अर्यालले बताए । कार्यक्रममा चन्द्रकोट गाउँपालिका उपाध्यक्ष विष्णुप्रसाद भण्डारी,नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्याल, सामुदायिक स्वास्थ्य स्वयंसेविका देवी कुँवर, स्वास्थ्यकर्मी नारायणप्रसाद अर्याल लगायतले कार्यान्वयन गर्न जोड दिए ।