आज साउन १ अर्थात् लुतो फाल्ने दिन । साउन महिनाको पहिलो दिनलाई लुतो फाल्ने दिन अर्थात् साउने संक्रान्ति भनिन्छ । वर्षभरका दिनहरु मध्य आज साउने संक्रान्ति १ गते सबै भन्दा लामो दिनको हुन्छ । बेलुका लुतो फाली धार्मिक महत्वको साथ संक्रान्ति मनाइन्छ । आजको दिन कण्डारक नाम गरेको रात्रिचर राति हिँड्नेको पूजा गरी बलेको अगुल्टो फालेपछि वर्षाभर खेतबारीको काम गर्दा लागेको छालाको रोग, खटिरा, लुतो आदि निको हुने शास्त्रीय मान्यता रहेको छ । नेपालका पहाडी समुदायबीच ‘लुतो फाल्ने’ चलन चलिआएको छ । खासगरी यो चलन शहरमा हराउँदै गएपनि ग्रामीण पहाडी भेगमा अद्यापि छ । वर्षभरका संक्रान्तिमध्ये साउन र माघ गरी दुई वटालाई महत्वका साथ लिइन्छ । असारभर गरिने खेतीपातीका क्रममा हिलोका कारण छालामा कुनै रोग नलागोस् भन्दै लुतो फाल्ने प्रचलन परापूर्वकालदेखि चल्दै आएको हो । लुतो उधुम चिलाउने चर्म रोग हो । केटाकेटीलाई दुःख दिने रातमा हिंड्ने कण्डारक नामको राक्षसलाई मन्सिएर बलिरहेको अगुल्टो वारी गाउँले, पारी गाउँले लुतो लैजाऔं भनेर कराउँदै फाल्ने प्रचलन छ । साँझमा अगुल्टो फाल्दा त्यससँग कुरिलो, पैयाको हाँगा, तितेपाती पनि फाल्ने गरिन्छ । अनि घरको निरालमा भलायोका पात, कुस आदि राख्ने चलन कायमै छ । कतै भाण्टालाई दुलो पारेर चौबाटोमा फालिदिएर नुहाएमा समेत लुतोबाट छुटकरा पाइने जनविश्वास छ ।
पुरानो पुस्तालाई यसबारे जानकारी भएपनि नयाँ पुस्ताले यसको महत्व बुझ्न नसक्दा पछिल्लो समय लुतो फाल्ने प्रचलन हराउँदै गएको छ । यसो हुनु अत्यन्त दुःखको कुरा हो । लुतो फाल्ने प्रचलनले संस्कृतिको सरक्षण मात्र होइन वनस्पतिको संरक्षण समेत हुन्छ तर हिजो आज भने यो प्रचलनमा कमी हुँदै जाँदा वनस्पतिको संरक्षण समेत हुन छोडेको छ । कागती, अम्बा, अनार, नसपाती आदि फलफूलसहित कण्डारक नामक राक्षसको पूजा गरी घरको चारैतिर बलिरहेको अगुल्टो झ्याकिन्थ्यो । तर अहिलेको पुस्ताले औषधीजन्य गुण भएका वनस्पति चिन्नै गाह्रो छ । लुतो फाल्ने परम्पराको साँस्कृतिक र औषधी महत्व हुँदा हुँदै पनि यसको वेवास्त गरिएको छ । यसर्थ लुतो फाल्ने प्रचलनलाई कायम राख्दै औषधीजन्य गुण भएका वनस्पति जोगाउने र थप वृद्धि गर्नु आजको आवश्यकता हो । यसतर्फ सबैको ध्यान जान जरुरी छ ।