Shittalpati
हाम्रो अविचलित यात्रा : २९ औं वर्षमा

कैलाशनगर मिडिया प्रालिद्वारा प्रकाशित नवजनचेतना राष्ट्रिय दैनिक (तत्कालीन साप्ताहिक) आजबाट २८ वर्ष पूरा गरी २९ औं वर्षमा प्रवेश गरेको छ । हाम्रो जस्तो मुलुकमा निजी क्षेत्रको व्यावसायिक सञ्चार संस्था निरन्तर २८ वर्ष प्रकाशनमा रहनु आफैमा एउटा उपलब्धि हो । यसका पछाडी जनचेतनामा विभिन्न कालखण्डमा विभिन्न भूमिकामा जोडिएका सबै सहकर्मी साथीहरूको अथक परिश्रम त छँदैछ, सँगै यो सफलता समाजका अनेक क्षेत्रको फराकिलो साथ र समर्थनको नतिजा पनि हो । यात्राका क्रममा मुलुकमा अनेकौं आरोह–अवरोह उत्पन्न भए । जतिसुकै जटिल परिस्थितिमा पनि हामी आफ्नो कर्म र दायित्वबाट भने विचलित भएका छैनौं । विगतको यो अनुभवले हामीलाई भावी यात्रा तय गर्न थप हौसला प्रदान गरेको छ । हामीले पहिले जस्तै ३ सय ४८ अंक प्रकाशित गर्दै २९ वर्षको यात्रा तय गरेका छौं । नेपालका धेरै जसो दैनिकहरुले वर्ष दिनमा ३ सय अंक समेत प्रकाशन गर्न नसकेको अवस्थामा पाल्पा जस्तो पहाडी जिल्लाबाट ३ सय ४८ अंक प्रकाशन गरेर पाठकको घरदैलोमा पु¥याउन पाएकोमा खुशी छौं ।

हामी प्रेस स्वतन्त्रता, मानवअधिकार, सामाजिक न्याय, निमुखा, विपन्न र सीमान्तकृतहरूको आवाजलाई मुखरित गराइ रहने छौं । यसअघि पनि अनेक दुःख, कष्ट खेप्दै हामीले समाज, राष्ट्र र जनताको आवाजलाई नै प्रस्तुत गर्दै सञ्चारकर्मलाई इमानदारी र निष्ठाका साथ गरिरह्यौं । हाम्रो यात्रालाई सहज तुल्याउन विगतमा धेरै सहकर्मीहरूको योगदान रहेको छ । एक प्रकारले विगतका दिनमा नवजनचेतना दैनिक पत्रकारितामा संलग्न हुन चाहने र निरन्तर यस क्षेत्रमा संलग्न अनेक पत्रकारका लागि पाठशाला जस्तो भएको थियो । अहिले पनि त्यही रूपमा हाम्रो योगदान निरन्तर छ भन्दा खुशी लागेको छ । मोफसलमा रहेर समाचारमूलक पत्रिका प्रकाशन गरी यो यात्रा तय गर्नु पक्कै पनि चुनौतिपूर्ण कार्य हो । जतिसुकै जटिल परिस्थितिमा पनि हामी आफ्नो कर्म र दायित्वबाट विचलित भएका छैनौं । मुलुक समृद्धिको यात्रामा छ । यो यात्रामा हामी सँँगसँगै छौं । भूकम्प जस्ता महाविपत्तिमा होस् या कोरोना महामारीका बेला हामी निरन्तर स्थानीयस्तरका समाचार, दुर्गम क्षेत्रका जनताको आवाज मिडियासम्म ल्याउन तल्लीन रह्यौं । हाम्रो मूलभूत मान्यता सत्य–तथ्य समाचार प्रवाह गर्दै परिवर्तित समयअनुरूप परिष्कृत पत्रकारिता गर्नु हो । लोकतान्त्रिक पद्धति, विधिको शासन, संघीयता, राष्ट्रिय स्वधीनता र भ्रष्टाचाररहित समाज निर्माणमा खट्नु हाम्रो दायित्व हो ।

दक्ष जनशक्तिको अभाव, महंगो प्रविधि तथा त्यही प्रविधि पनि सहजताका साथ उपलब्ध नहुँदा प्रकाशनलाई निरन्तरता दिन निकै कठिन भइरहेको छ । केन्द्र, प्रदेश र स्थानीय सरकारहरु, आम पाठकवर्ग, विज्ञापनदाता, सञ्चारकर्मी, शुभचिन्तकहरुको निरन्तर सहयोगले हामी चुनौतीहरुलाई पार गर्दै यो अवस्थासम्म आइपुगेका छौं । विगत केही वर्षदेखि यो दैनिकलाई अनलाइन संस्करणमा समेत सँगसँगै अगाडि बढाएका छौं । विश्वभरका नेपालीलाई शित्तलपाटी डटकमले जोडिरहेको छ । मोफसलमा पत्रकारिताको यात्रा अझै पनि चुनौतीपूर्ण छ, तर यो चुनौतीलाई स्वीकार गरेरै हामी निरन्तर अगाडि बढ्ने अठोट गरेका छौं । पत्रकारिताका नयाँ आयामको प्रयोगमार्फत् हाम्रो यात्रा निरन्तर जारी रहने छ । अन्त्यमा, यो यात्रामा साथ दिनुहुने समस्त आमपाठक, विज्ञापनदाता, संवाददाता, लेखक, शुभेच्छुकप्रति हार्दिक आभार व्यक्त गर्दै निरन्तर सहयोग र सहकार्यको अपेक्षा गरेका छौँ । सञ्चार माध्यमलाई ‘आवाजविहीनको आवाज’ भनिए पनि पूर्णरूपमा कार्यान्वयन हुन नसकेकोमा हामी सचेत छौं र भुँई मान्छेका आवाजलाई महत्वपूर्ण स्थान दिनुको साथै आम पाठकको अपेक्षा अनुरुप स्तरयुक्त सामग्री पस्किरहने समेत प्रतिबद्ध व्यक्त गर्दछौं । सबैको जय होस् ! सबैको कल्याण होस् ।

प्रकाशित मिति: सोमबार, साउन १, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update