गुल्मी, गुल्मीको दुर्गम क्षेत्र अग्लुङ्गमा सुत्केरी महिलाहरुका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिने भएको छ । जिल्लाको पश्चिम क्षेत्रमा पर्ने ग्रामीणस्थल मदाने गाउँपालिका–१ अग्लुले सुत्केरी महिलाहरुका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको हो ।
साउन एक गतेदेखि लागू हुने गरी निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय भएको वडाअध्यक्ष सुशील चन्दले जानकारी दिए । आर्थिक हिसाबले विपन्न परिवारलाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको उनको भनाई छ । ‘घरको आर्थिक अवस्था कमजोर भएका परिवारलाई सहजै एम्बुलेन्स लैजान गाह्रो हुन्छ, जसका कारण समयमै उपचार नपाएर मृत्यु सम्म हुन पुुग्छ । यस्तो अवस्था नआओस् भन्ने उद्देश्य हो’ उनले भने । ‘आमा र बच्चाको स्वास्थ्य उच्च जोखिममा पारी घरमै सुत्केरी हुने समस्याको अन्त्यका लागि निःशुल्क एम्बुलेन्स सञ्चालन हुँदा धेरै सहयोग पुग्ने विश्वास लिएका छौं ।’ आफुहरु नागरिकहरुको स्वास्थ्यप्रति सजग र गम्भीर रहेको उनले बताए ।
त्यहाँ रहेको अग्लु· स्वास्थ्य चौकीमा सुत्केरी हुन नसके छिमेकी जिल्ला प्युठानको बिजुवार लैजानुपर्छ । त्यहाँ पुग्न सवारी साधनमा झण्डै तीन घण्टाको यात्रा गर्नुपर्ने अध्यक्ष चन्दले बताए । उनले भने ‘सवारी साधन रिजर्भ गरेर लैजादाँ सात हजार भन्दा बढी खर्च हुन्छ । अन्यत्र लैजानुपर्ने भएमा पनि वडा कार्यालयबाट यातायात खर्च समेत उपलब्ध गराइने भएको होे ।’