Shittalpati
पाठकका नजरमा नवजनचेतना दैनिक

‘स्वच्छ र स्वतन्त्र पत्रकारिता’ भन्ने मूल नाराका साथ प्रकाशन सुरु भएको नवजनचेतना राष्ट्रिय दैनिक आजदेखि २९ औं वर्ष प्रवेश गरेको छ । हाम्रो यो यात्रा यहाँसम्म ल्याउनमा हाम्रा पाठक, शुभेच्छकको अहम् भूमिका रहेको छ । यस अवधिमा दैनिकले बाटो बिराएकाहरूप्रति निरन्तर खबरदारी गर्‍यो, चाहे सरकार सञ्चालक हुन् वा कर्मचारी, सार्वजनिक जिम्मेवारीमा रहेकाहरू हुन् वा समाजका सरोकारवाला व्यक्ति, संस्था र निकायहरू हुन् । हामी चाहन्छौँ, हामीप्रति पनि पाठकको यस्तै खबरदारी जारी रहोस् । २९ वर्ष प्रवेशको अवसरमा पाठकहरुको नजरमा नवजनचेतना दैनिक कस्तो रह्यो/रहनुपर्छ ? भन्ने प्रतिक्रिया, सुझाव र सल्लाह जस्ताको त्यस्तै यहाँ प्रस्तुत गरेका छौं ।

शैलेन्द्र भट्टराई
अध्यक्ष, उद्योग वाणिज्य संघ 

सर्वप्रथम त म यो पत्रिका २९ वर्ष प्रवेश गरेको अवसरमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु । विशेषतः मोफसलबाट प्रकाशित जिल्लाको एक मात्र दैनिक पत्रिकाले उद्योगी, व्यवसायीहरुको हितमा खेलेको भूमिका प्रशंसनिय छ । यसले आर्थिक समस्याबाट गुज्रिरहेका उद्योगी, व्यवसायीहरुलाई माथि उठाउनका लागि सरकार र सम्बन्धित निकायहरुलाई निरन्तर खबरदारी गर्दै आएको मैले महशुस गरेको छ । पछिल्लो समय आर्थिक संकटबाट निजी क्षेत्र मात्रै होइन मिडियाहरु समेत ग्रसित भएको अवस्था छ । यस्तो अवस्थामा स्थानीय सरकारले निरन्तर सक्रिय रुपमा लाग्दै आएका छापा सञ्चारमाध्यमहरुलाई प्रोत्साहन स्वरुप केही बजेट विनियोजन गर्न जरुरी छ । सकारात्मक विचार बोकेको यो पत्रिकाले समाजलाई सकारात्मक दिशातर्फ डोर्‍याएको छ । आगामी दिनमा समय सापेक्षा प्रविधिको प्रयोग गरी खोजमूलक समाचारहरुमा पत्रिकाले ध्यान दिन सकोस् ।


रेखीराम राना
अध्यक्ष, पत्रकार महासंघ पाल्पा

जिल्लाको एक मात्र दैनिक पत्रिका नवजनचेतनाले पाठकहरुको मन जित्न सफल भएको छ । निष्पक्ष र स्वतन्त्ररुपमा आम नागरिकलाई सु–सूचित गर्ने काममा पत्रिका निरन्तर लागेको छ । मोफसलमा रहेर पत्रिका प्रकाशन गर्नु र यसलाई निरन्तरता दिनु सधैं चुनौतीहरुसँग लडिरहने काम हो । चुनौतीहरुसँग लड्ने तयारीका साथ नवजनचेतना दैनिकले २९ वर्ष अघिदेखि जुन जमर्को गरेको छ त्यो अत्यन्तै सह्रानीय र प्रशंसनीय छ । पछिल्लो समय डिजिटल युगले गर्दा पत्रिको महत्व घट्दै गएको होकी भन्ने महसुुस हुन थालेको छ । यद्यपी पत्रिकाको महत्व घट्यो भन्दैमा त्यसको औचित्य भने घटेको छैन । समय सापेक्ष पत्रिकाले प्रकाशन गर्ने सामग्रीहरुमा भने सुधार गर्दै जानुपर्छ ।  जिल्लाको एक मात्र दैनिक पत्रिका भएकाले यसलाई बचाई राख्न यहाँका, उद्यागी, व्यवासयी र स्थानीय सरकारले विशेष ध्यान दिनुपर्छ । यस दैनिकले जिल्लाको पत्रकारिता क्षेत्रलाई थप उचाईमा पुर्‍याउन सकोस् शुभकामना ।

लालकाजी शाक्य 

म यस पत्रिकाको नियमित लेखक तथा पाठक हुँ । पत्रिकाले पस्कने हरेक सामग्री राम्रा र पठनिय छन् । सत्यतथ्य समाचार प्रकाशन गरी आम पाठहरुको घर–घरमा पुर्‍याउने काममा यस नवजनचेतनाले खेलेको भूमिका सह्रानीय रहेको छ । समाचार, विचार तथा विभिन्न खाले पाठकलाई चाहिने जरुरी पाठ्यसामग्रीहरुले यस क्षेत्रका पाठकहरुको पत्रिकाले मन जितेको पाइएको छ । समाज र देशमा देखिएका विकृति विसंगतीका विरुद्ध पत्रिकाले वर्षभरि उठाएको विषयवस्तुका लागि हार्दिक धन्यवाद दिन चाहन्छु । पत्रिकाले वितरण प्रणालीलाई सुुधार गर्दै थप पृष्ठ बढाउने काममा ध्यान दिन सकोस् सफलताको शुभकामना ।

मानबहादुर खाम्चा

म यस दैनिकको पुरानो पाठक हुँ । मैले यस पत्रिकाका सबै अंकहरु अध्ययन गर्ने गरेको छु । समष्टिगत रुपमा यो पत्रिका राम्रो छ । यसले उठाएका विषयवस्तु निकै राम्रा छन् । पत्रिकाले स्थानीय स्तरका विषयहरुलाई उठान गरेको छ । यो राम्रो पक्ष हो । नवजनचेतनाले जिल्लाको सम्रग विकासमा पुर्‍याएको योगदान प्रशंसनीय छ । पत्रिकाले विकास निर्माणका बेतिथि, महिला बालबालिकाका विषय,  स्थानीय वस्तुको प्रवद्र्धन हुने खालका विषयवस्तुलाई जुन किसिमले उठान गरेको छ त्यो सह्रानीय छ । पत्रिकाले पस्कने सामग्री राम्रा भएपनि वितरण प्रणालीमा भने केही समस्या होकि भन्ने मैले महशुस गरेको छु । आगामी दिनमा पत्रिका वितरणलाई नियमित  गराउन सकियोस् । 

टिकाराम बस्याल

म यस पत्रिकाको नियमित पाठक हुँ । पत्रिकाले विगतमा भन्दा अहिले आफुलाई समय सान्दर्भिक रुपमा अगाडि बढाएको मैले महशुस गरेको छु । म जस्ता लाखौं पाठकहरुको मन जित्न सफल भएको छ । यसले प्रकाशित गर्ने हरेक सामग्रीहरु राम्रा छन् । पत्रिकाले अझ पृष्ठ थप गरेर लैजान सके राम्रो हुन्छ । बरु एक÷दुुई रुपैयाँ बढी भएर केही हुँदैन । आगामी दिनहरुमा पत्रिकाहरुले स्थानीय समाग्रीहरुलाई अझ परिष्कृत गर्दै वितरण प्राणलीलाई नियमित बनाउँदै लैजाओस् । समाजमा हुने सकारात्मक कामहरुलाई आम नागरिक माझ ल्याउने र नकारात्मक कार्यहरु समेत उजागर गरी समाज परिवर्तनको दिशामा आफुलाई अग्रसर बनाई पत्रकारिताको क्षेत्रमा विकास गर्दै अगाडि बढ्न सकोस् सफलताको शुभकामना ।

पं.होमनाथ न्यौपाने

म नवजनचेतना दैनिकको नियमित पाठक हुँ । यसले पस्कने हरेक सामग्रीहरु अत्यन्त राम्रा छन् । विगतमा यसले पस्कने सामग्रीहरु त्यत्ति पठनीय नभए पनि पछिल्लो ५ वर्ष यता हेर्दा हरेक सामग्रीहरु पठनिय छन् । यसबाट प्रकाशित समाचारहरुले समाज रुपान्तरणमा मात्र होइन सत्य तथ्य सूचनाहरु थाहा पाउन महत्वपूर्ण भूमिका खेलेको छ । पत्रिकाले आगामी दिनमा थप परिस्कृत सामग्रीहरु पस्कदै ४ पृष्ठबाट थप बढाउदै पाठकहरु बढाउने कुरामा ध्यान दिन सकोस् भन्दै शुभकामना दिन चाहन्छु ।

जितबहादुर छहरी

म प्रायःजसो यो पत्रिका पढ्ने गर्दछु । पत्रिकाको म नियमित ग्राहक पनि हुँ । स्थानीय पत्रिका भएकाले पनि यसले प्रकाशित गर्ने हरेक सामग्रीहरु पठनिय नै छन् । पछिल्लो समय पत्रिकाले पस्कने हरेक सामग्रीहरु मलाई राम्रो लाग्छ । म आफै पनि पत्रिका खोजी खोजी पढ्ने भएकाले एक दिन पनि घरमा पत्रिका नआउँदा मलाई खाना नै विर्से जस्तो हुन्छ । कहिले काही पत्रिका आउँदैन । यसलाई आगामी दिनमा नियमित गराउन सकियो भने राम्रै हुन्थ्यो । 

 

प्रकाशित मिति: सोमबार, साउन १, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update