पाल्पा, यातायात व्यवस्था विभागले साउन २ गतेदेखि लागू हुने गरी सार्वजनिक यातायातको भाडा घटाएको छ । पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू भएसँगै मूल्य घटेपछि सार्वजनिक यातायातको भाडा घटाइएको हो ।
स्वचालित प्रणालीले डिजल र पेट्रोलको मूल्य घटाएलगतै यातायात व्यवस्था विभागले पनि भाडा समायोजन गरेको छ । डिजेलको मूल्य घटेकाले गाडी भाडामा पनि समायोजन गरिएको विभागले जनाएको छ । विभागले जारी गरेको सूचनामा यात्रुवाहक सवारीसाधनको झण्डै तीन प्रतिशत घटेको हो । स्वचालित प्रणालीअनुसार डिजेलमा चार र पेट्रोलमा प्रतिलिटर छ रुपैयाँ घटेको छ । त्यसैलाई आधार बनाएर यातायात व्यवस्था विभागले यात्रुबाहक सवारीसाधनमा दुई दशमलव १३ प्रतिशत, मालबाहक सवारीमा पहाडमा दुई दशमलव ७८ र तराईमा तीन दशमलव ९ प्रतिशतले भाडा घटाएको हो ।
भाडा समायोजन भएपछि काठमाडौं–तानसेनका लागि ८ सय ६५ भाडादर कायम भएको छ । यस अघि ८ सय ८४ रुपैयाँ रहेको थियो । यस्तै काठमाडौं–हार्थोक (पाल्पा)का लागि ९ सय ५ भाडा दर कायम भएको छ । यहाँ यस ९ सय २४ रुपैयाँ रहेको थियो । काठमाडौं–तम्घासको भाडादर एक हजार एक सय ८२ कायम गरिएको छ । यस अघि यो रुटमा एक हजार दुई सय ८ रहेको थियो । यस्तै कलैया–तानसेन, पाल्पा ६ सय ९६ कायम गरिएको छ । यस अघि ७ सय ११ थियो । काठमाडौं–पोखरा–तानसेन, कपिलवस्तु– नारायणगढ एकतर्फी एक हजार ६ सय ६६ कायम भएको छ । यस अघि यस रुटमा एक हजार ७ सय ३ रहेको थियो । यस्तै काठमाडौं–बुटवलका लागि ७ सय ३० भाडा कायम गरिएको छ । यस अघि ७ सय ४६ रहेको थियो । सुर्खेत–पाल्पा–पोखराका लागि एक हजार ५ सय १४ भाडा दर कायम गरिएको छ । यस अघि यहाँ एक हजार ५ सय ४७ रहेको थियो । नयाँ भाडादर लागू भए÷नभएको अनुगमन यातायात व्यवस्था कार्यालय र ट्राफिक प्रहरी महाशाखाले गर्नेछन् । पेट्रोलियम पदार्थमा पाँच प्रतिशतभन्दा बढी घटबढ भएमा नयाँ भाडादर समायोजन गर्ने वैज्ञानिक भाडादरसम्बन्धी कार्यविधिमा व्यवस्था छ ।
आइतबार राति १२ बजेपछि लागू हुनेगरी नेपाल आयल निगमले खाना पकाउने एलपी ग्याँस र पेट्रोलियम पदार्थको मूल्य घटाएको थियो । निगमले खाना पकाउने ग्याँसको मूल्य प्रतिसिलिण्डर १० रुपैयाँले घटाएको हो । ग्याँसको मूल्य अब प्रतिसिलिण्डर १ हजार ७ सय ९० रुपैयाँ पर्नेछ । त्यस्तै पेट्रोलको मूल्य प्रतिलिटर ६ रुपैयाँ घटेको छ । डिजलको मूल्य प्रतिलिटर ४ रुपैयाँ घटेको छ । यसैबीच निगमले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेको छ । अब भारतबाट मूल्य बढेर आउँदा नेपालमा पनि मूल्य बढ्नेछ भने घटेर आउँदा घट्नेछ । भारतबाट १५÷१५ दिनमा इन्धनको मूल्य सूची आउँछ । भारतीय आयल कर्पोरेसन आईओसीको ३१ अर्ब बक्यौता रकम भुक्तानी गरेसँगै निगमले इन्धनको मूल्यमा स्वचालित प्रणाली लागू गरेको हो ।