गुल्मी, रातो नम्बर प्लेट (निजी सवारी) ले यात्रुु बोके कारवाही गरिने भएको छ । जिल्लाका विभिन्न ठाउँहरुबाट रातो नम्बर प्लेटका गाडीले यात्रु बोकेको भन्ने गुनासो आएपछि ईलाका प्रहरी कार्यालय रिडीले त्यस्ता गाडीलाई कारवाही गर्ने भएको हो ।
रुरुक्षेत्र गाउँपालिका– १ रिडी बसपार्कमा भएको सवारी न्यूनीकरण सम्बन्धि एक दिने जनचेतना मुलक कार्यक्रममा ईलाका प्रहरी कार्यालय रिडीका प्रहरी निरीक्षक यमलाल बंजाडेले निजी सवारीले यात्रु बोकेको थाहा पाए कारवाही गर्ने बताएका हुन् । उनले ब्यवसायी समितिको टिकट काउण्टरबाट यात्रुले टिकट काट्नु पर्ने, यातायात ब्यवसायी र कर्मचारी बिच शिष्ट भाषा, शिष्ट ब्यवहारको प्रयोग गर्नुपर्ने, निर्माण ब्यवसायीले सडक निर्माण गरिरहेको अवस्थामा सडक निर्माण गर्ने उपकरणहरु तयारी अवस्थामा राखेको हुनुपर्ने, यातायातका साधन जुन प्रयोजनका लागि अनुमति लिइएको हो त्यही प्रयोजनका लागि मात्र प्रयोग गर्नुपर्ने, रातो प्राइभेट सवारी साधनले यात्री बोक्न नपाउने, चालक सहचालक तथा यात्रामा रहेका यात्रुुले पुर्ण रुपमा ट्राफिक नियमको पालना गर्नुपर्ने, अवधी नाघेका सवारी साधनहरु गुडाउन नपाउने बताएका थिए ।
कुनै पनि नियमको उल्लंघन गरी सवारी साधन चलाएमा कानुनको दायरामा ल्याई कडा कारवाही गरिने समेत उनले बताए । लागुु पदार्थ सेवन गरी सवारी चलाएको खण्डमा कानुन बमोजिम कारवाही गरिने पनि प्रहरी निरीक्षक बंजाडेले बताए । पश्चिम नेपाल बस ब्यवसायी प्राइभेट लिमिटेड रिडीका इन्चार्ज ज्ञानेन्द्र रावलले हरेक सवारी साधनमा तोकिएको भाडा दर टासिने , यात्रा गर्दा कालो प्लेटमा यात्रा गर्नु पर्ने सवारी धनिले तोकिएको भाडा भन्दा बढी लिइएमा आफ्नो कार्यालय वा प्रहरीलाई तत्काल खबर गर्न आग्रह गरे ।