Shittalpati
तानसेनका अधिकांस पसलमा ठूलो परिणाममा अखाद्य वस्तु भेटियो

कृष्ण पोखरेल
पाल्पा,
पाल्पाको सदरमुकाम तानसेनका किराना पसलमा अखाद्य वस्तु बिक्री गरेको पाइएको छ । अनुगमनका क्रममा ठूलो परिणाममा अखाद्य वस्तु बरामद गरिएको हो ।

तानसेन बजारको कोर क्षेत्रका किराना पसलहरुमा अत्याधिक मात्रामा खाना अयोग्य खाद्य पदार्थहरु भेटिएका छन् । तानसेनको विशालबजार, पेट्रलपम्प, गौरी शंकर गेष्टहाउस क्षेत्रमा गरिएको बजार अनुगमनकोे क्रममा ठूलो परिणाममा अखाद्य बस्तुहरु भेटिएका हुन । उक्त क्षेत्रको २५ वटा पसलहरुमा अनुगमन गरी नमुना संकलनको क्रममा २० हजार बराबरको अखाद्य बस्तुहरु जफत गरी तानसेन नगरपालिका क्षेत्रमा जलाई नष्ट गरिएको छ ।  अनुगमन गरिएका क्षेत्रको चर्चित डिपाटमेण्टल स्टोर देखी बाटोघाटो चोक चोकका पसलहरुमा बढी मात्रामा अखाद्य पदार्थहरु भेटिएका हुन् । 

२५ वटा पसलबाट विस्कुट, किसमिस, पास्ता, टोस्ट, मसला, बेकन, एस आर मैदा, कुरकुरे, पोटाटो चिप्स, जेम्स, सुजी, आचार खाने तिल, मरिच पाउडर, सेनचुरी चिकन मसला, बेसन, बदाम जुस, करेन्ट पोटाटो क्रयाकर, चिल बल्व, मायोनेज, वलिम, बोतल पानी, डाइजेस्टिक विस्कुट, चोको प्लेक्स, चाउमिन सेकुवा मम गरम सब्जी र पानीपुरी मसला, आटा, वियर लगायतका बस्तुहरु रहेको अनुगमन टोलीका संयोजक  तथा तानसेन नगरपालिकाका बरिष्ठ कार्यक्रम अधिकृत दुर्गा बहादुर थापाले बताए । असार मसान्तको समयमा विशालबजार क्षेत्रमा अत्याधिक मात्रामा अखाद्य बस्तुहरु भित्रिएको सूचनाको आधारमा बजार अनुगमन गरिएको संयोजक थापाले बताए । 

तानसेन नगरपालिकाले हाल सम्म अनुगमनको क्रममा भेटिएका अखाद्य वस्तुहरु जफत गर्ने र मुचुल्का गरी जलाउने गर्दै आए पनि अबका दिनमा समान जफतसँगै परिणाम अनुसार दण्ड जरिवाना गर्ने देखी पक्राउ गरी मुद्दा सम्म चलाउने सम्मको कारवाही गर्ने प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले बताए । 

बजार अनुगमनमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय, घरेलु तथा साना उधोग कार्यालय, उपभोक्ता हित संरक्षण मञ्च, उपभोक्ता, पाल्पा उधोग वाणिज्य संघ, पाल्पा व्यापार संघ र नेपाल पत्रकार महासंघको सहभागिता रहेको थियो । 

नजिकिदै गरेका चाडपर्वलाई लक्षित गरी तथा बर्षातको मौसमलाई मध्यनजर गरी होलसेल पसलहरुले ग्रामिण क्षेत्रमा अत्याधिक मात्रामा अखाद्य बस्तुहरु पठाएको अवस्था हुन सक्ने भएकोले सबै स्थानीयतहले आ–आफ्नो अधिकार प्रयोग गरी बजार अनुगमन गर्न जिल्ला प्रशासन कार्यालय पाल्पाकी प्रशासकीय अधिकृत रमा श्रेष्ठले पालिका अध्यक्षहरुलाई अनुरोध गरेकी छन् । 

प्रकाशित मिति: सोमबार, साउन १, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update