असार–साउनको महिना मानो छरेर मुरी उब्जाउने बेला हो । किसान यतिबेला खेतीपातीमै व्यस्त छन् । उनीहरु एकातिर खेती लगाउने काममा व्यस्त छने भने अर्कोतर्फ ‘लम्पी स्किन’को महामारीका कारण पीडामा छन् । ‘लम्पी स्किन’का कारण किसानले पालेका गाईभैंसी संक्रमित हुनुको साथै मरेका छन् । देशभर नै यसको संक्रमण फैलिएको छ । संक्रमण फैलिएको चार महिनामा झण्डै ८ लाख पशु संक्रमित भए भने झण्डै २७ हजार चौपाया मरिसकेका छन् । यो किसानको कम्तीमा ३७ अर्बको क्षति हो । क्षतिलाई कसैको गल्ती वा कमजोरीबाट भएको हो भन्न मिल्दैन । सो महामारी नै हो भन्ने कुरा सबैलाई थाहा छ तर पनि महामारीबाट बच्न र यसबाट भएको क्षतिमा राहत दिलाउने कुरामा सरकारको ध्यान भने जान सकेको छैन । यो अत्यन्त दुःखको कुरा हो । सरकारको प्राथमिकता, दलहरूको मुद्दा र संसद्को बहसमा सर्वाधिक प्राथमिकतामा पर्ने विषय भएपनि त्यसले खासै प्राथमिकता पाउन सकेको छैन ।
वास्तवमा यो समस्या देशव्यापी बनेको छ । यो कुनै पार्टीगत समस्या होइन, सबैको साझा समस्या हो । आपूmले पालेका पशु मरेर नोक्सान भएका कारण किसानले व्यावसायिक लाभ लिन त परैको कुरा आफ्नो लगानीसमेत डुबेको छ । असार मास गोरु संक्रमित हुँदा कतिको रोपाइँ नै प्रभावित भएको छ । सरकारको भरपर्दो पूर्वतयारी नहुँदाको मूल्य किसानले चुकाउनुपरेको छ । महामारी फैलिरहँदा पनि गाउँमा भने न औषधोपचार छ, न आवश्यक मात्रामा खोपको व्यवस्था नै । यस्तो अवस्थामा सरकारले लम्पीको रोकथाम, नियन्त्रण वा सकिन्छ भने निराकरणकै लागि विशेष प्रयास गर्नुपर्छ । सरकारले तत्काल महामारी घोषणा गरी धेरैभन्दा धेरै प्राविधिकलाई गाउँ–गाउँ खटाउनुपर्छ । खोप, ज्वरोको औषधि, मल्हमलगायतका आवश्यक सामग्री तत्काल किसानको पहुँचमा पु¥याउने काममा सरकारले तदारुकता देखाउनै पर्छ । किसानले ठूलो क्षति व्यहोर्नु परेको छ । त्यसका लागि सरकारले राहतको व्यवस्था समेत गर्नु पर्छ । अहिलेसम्म जे जति क्षति भएको छ अब त्यो भन्दा बढी क्षति हुन दिनुहुँदैन । त्यसका लागि सरकार गम्भीर बन्नै पर्छ ।