पाल्पा, साउने संक्रातिका दिन आगोको राँको बालेर लुतो फालिएको छ । साउन १ गतेका दिन साँझ घर–घरका छत/आगनबाट आगोको राँको बालेर लुतो फालिएको हो । विशेषतः पहाडी जिल्लाका गाउँहरुमा आगोको राँको बालेर लुतो फालिएको छ । आगोको राँका बालेर शरीरमा पुछेर फालेमा वर्षभरीको दुःखकष्ट रोगग्रह जाने र घरमा शान्ति आउने जनविश्वास रहेको छ ।
यो समयमा राँको बालेर सपरिवार एक गाउँकाले अर्को गाउँका मानिसहरूलाई आफ्नो रोग व्यथा सबै जाओस् भनेर गाली पनि गर्ने प्रचलन छ । घरपरिवारको सुख शान्ति आउने भएकाले साउने संक्रान्ति विशेष रुपमा लिने गरिन्छ । धान रोपाइँको काम सकिएको अवसरमा किसानहरुले साउने संक्रान्ति मनाउने गर्दछन् । महिनाभरी हिलोमा बसेर खेतिपाती गर्नु पर्दा शरीर चिलाउने, खटिरा तथा लुतो आदि आउन सक्ने भएकाले जीउलाई सफा सुग्घर गरी लुतो फाल्ने गरिन्छ । लोकोक्ति अनुसार केटाकेटीलाई दुःख दिने रातमा हिंड्ने कण्डारक नामको राक्षसलाई मन्सिएर भगाउन बलिरहेको अगुल्टो घरको चारैतिर लुतो लैजा भनेर कराउँदै फालिन्थ्यो । त्यही परम्परा लुतो फाल्ने चलनका रूपमा कायम छ । लुतो फाल्न वा राक्षसको पूजा गर्न भलायोका पात, तिउरी, पानीसरो, देवीसरो, कुकुरडाइनुको लहरो, धसिङ्गरेका बोट, उन्यू जातको नागबेली, कुरिलो, सिउँडी, सिस्नु,जरै सहितको पानीअमला, नासपाती आदि औषधिका रुपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फाल्ने गरिन्छ । चारै दिशामा बलेको अउल्टो फ्यांकेर सबै रोगब्यादी लैजा भन्ने गरिन्छ ।
अधिकांश नेपाली खेतीमा लाग्ने भएकाले असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन् । त्यस क्रममा हिलो मैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने गरिएको धर्मशास्त्रमा उल्लेख छ । भलै हिजोआज यो चलन विस्तारै कम भएको छ ।