Shittalpati
अर्थतन्त्र बलियो बनाउन नेता सुध्रिनु पर्छ

राजनीतिक अस्थिरताका कारण नेपालको अर्थतन्त्र सधै कमजोर छ । राजनीतिले स्थिरता लिन सकेको छैन, जसले गर्दा अर्थतन्त्र पनि उत्तिकै कमजोर छ । सधैँ सरकार परिवर्तन भइरहँदा आर्थिक नीति पनि परिवर्तन हुँदै जाने गर्दछ । दिगो अर्थनीतिको अभावमा अर्थतन्त्र कहिल्यै सुधार हुन सकेन, यो नै नेपालको अर्थतन्त्रको मूल समस्या हो । अर्थतन्त्र बजेटबाटै सुरु हुन्छ । बजेट निर्माण हचुवाको भरमा गरिने विषय त एकातिर छँदै छ भने अर्कोतिर महत्वाकांक्षी पनि हुने गरेको छ । पहुँचका आधारमा योजना छनोट गरिने र पहुँचकै आधारमा बजेट विनियोजन गरिने परम्पराको अन्त्य हुन सकेको छैन । आयोजना तर्जुमा एक प्रविधिमूलक एवं प्राविधिक विषय हो । तर, नेपालमा भने यी कुरामा ध्यानै दिइएको पाइँदैन ।

सरकारले लगानीको वातावरण समेत बनाउन सकेको छैन । लगानीको वातावरण बनाउन सरकारले विभिन्न कानुन तर्जुमा गर्ने भन्दै आएपनि अहिलेसम्म धेरै कानुन बन्न सकेको अवस्था छैन । कानुन अभावमा लगानीकर्तालाई सजिलै लगानी ल्याउन र फिर्ता लैजान सजिलो हुन सकेको छैन । लगानी फिर्ता लैजान कठिन छ भन्ने जान्दाजान्दै कोही पनि लगानीकर्ता जोखिम मोलेर आउँदैन । लगानीको वातावरण बनाउन सरकारी कर्मचारीको भूमिका पनि उल्टो छ । विदेशी वा स्वदेशी जुनसुकै लगानीकर्ताका लागि पनि सरकारी कर्मचारीले सहजीकरण गर्नेभन्दा अवरोध बढी गर्ने प्रचलन छ । यति मात्र होइन्, विदेशमा पाखुरा बेच्न जाने नेपालीहरुको संख्या पनि बढेको छ । रेमिट्यान्स आयो भनेर दंग पर्नु पर्ने अवस्था छ तर यसले समस्या उत्पन्न हुने कुरालाई नकार्न सकिदैन । नेपालमा गरी खाने ठाउँ नभएपछि नै युवाहरु पलायन भएका हुन् । उर्जवान युवाहरु विदेश पलायन हुँदा देशको अर्थतन्त्र दीगो रुपमा बलियो हुन सक्दैन । यसतर्फ न सरकारको ध्यान जान सकेको छ न त राजनीति दलका नेताहरुको । विनियोजित बजेट पनि पूर्णरुपमा सदुपयोग हुँदैन, आधाभन्दा बढी त भ्रष्टाचारमै सकिन्छ । अर्थमन्त्रीले प्रधानमन्त्री र आफ्नो पार्टी सभापतिको चाकडी गर्न, खुशी पार्न सिंगो प्रदेशलाई विनियोजन हुने सरहको बजेट उनीहरुका जिल्लामा ओइराउँछन् । एक त आर्थिक सामथ्र्य नै खत्तम छ । भएको सिमित स्रोत र साधनको पनि सदुपयोग होइन, दुरुपयोग भएको छ । यसले गर्दा कहिल्यै अर्थतन्त्र बलियो हुन सक्दैन । यसर्थ अर्थतन्त्र बलियो बनाउन नेता सुध्रिन जरुरी छ । त्यसो भयो भने मात्र मुलुकको अर्थतन्त्र मजबूूद र बलियो बन्न सक्छ, अन्यथा सधै कमजोर नै रहिरहने छ ।

प्रकाशित मिति: बुधबार, साउन ३, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update