Shittalpati
बजार अनुगमन हुन्छ, कारवाही हुँदैन

पाल्पा, पाल्पाको सदरमुकाम तानसेनका पसलहरुमा बेला–बेलामा मौसमी अनुगमन हुने गर्दछ । हरेक वर्ष दसैं–तिहार र आर्थिक वर्षको सुरुमा बजार अनुगमनले राम्रै प्राथमिकता पाउने गर्दछ । बजार अनुगमन गर्दा गुणस्तरहिन बस्तु नस्ट गरिन्छ । अनि यसको प्रचारप्रसार पनि राम्रै हुन्छ तर, कारवाही भने हुँदैन । अनुगमन टोलीले अनुगमन गर्दा सधैँ सुझावमात्रै दिने,कुनै कारवाही नगर्ने कारण मापदण्ड विपरीतका खाद्यवस्तु बिक्री गर्नेको मनोबल झनै बढाउने गर्दछ । यस आर्थिक वर्ष सुरु मै तानसेनका किराना पसलहरुमा अनुगमन गरिएको छ ।

अनुगमनका क्रममा ठूलो परिणाममा अखाद्य वस्तु बरामद गरियो । तानसेनको विशालबजार, पेट्रलपम्प, गौरी शंकर गेष्टहाउस क्षेत्रमा गरिएको बजार अनुगमनकोे क्रममा ठूलो परिणाममा अखाद्य बस्तुहरु भेटिए । उक्त क्षेत्रको २५ वटा पसलहरुमा अनुगमन गर्दा २० हजार बराबरको अखाद्य बस्तुहरु जफत गरी तानसेन नगरपालिका क्षेत्रमा जलाई नष्ट गरिएको छ । अनुगमन गरिएका क्षेत्र चर्चित डिपाटमेण्टल स्टोरदेखि बाटोघाटो चोक चोकका पसलहरुमा बढी मात्रामा अखाद्य पदार्थहरु भेटिएका हुन् । विस्कुट, किसमिस, पास्ता, टोस्ट, मसला, बेकन, एस आर मैदा, कुरकुरे, पोटाटो चिप्स, जेम्स, सुजी, आचार खाने तिल, मरिच पाउडर, सेनचुरी चिकन मसला, बेसन, बदाम जुस, करेन्ट पोटाटो क्रयाकर, चिल बल्व, मायोनेज, वलिम, बोतल पानी, डाइजेस्टिक विस्कुट, चोको प्लेक्स, चाउमिन सेकुवा मम गरम सब्जी र पानीपुरी मसला, आटा, वियर लगायतका अखाद्य बस्तुहरु रहेको अनुगमन टोलीका संयोजक  तथा तानसेन नगरपालिकाका बरिष्ठ कार्यक्रम अधिकृत दुर्गा बहादुर थापाले बताए ।

ठूलो परिमाणमा अखाद्य वस्तु फेला परे पनि जफत गरी जलाउने काम मात्र भयो । अनुगमन टोलीले उपभोक्ता हित विपरितका क्रियाकलापमा संलग्न रहेका व्यवसायीहरुलाई सम्झाई बुझाई छोडेको छ । सम्झाई बुझाई गरी छोड्दा मापदण्डविपरीतका खाद्यवस्तु बिक्री गर्नेको मनोबल झनै बढ्ने गरेको राप्रपाका नेता देवेन्द्रबहादुर रायमाझीले बताए । उनले भने ‘वर्षको एक/दुई पटक बजार अनुगमन हुन्छ तर जतिपटक अनुगमन गरे पनि अनुगमन टोलीले मापदण्डविपरीतका पसलेलाई जहिले पनि सुझावमात्रै दिएर जान्छ, कारवाही कहिले हुँदैन, सचेतमात्रै पार्ने भए अनुगमनको काम छैन। यसले अखाद्यवस्तु बिक्री गर्नेको मनोबल झनै बढाएको छ ।’ राज्य पुनर्संरचनापछि बजार अनुगमनको जिम्मा स्थानीय तहलाई दिएको छ । आफ्नो क्षेत्रभित्रको बजार अनुगमनसँगै कारवाही गर्ने अधिकार पनि स्थानीय तहलाई दिएको छ भने जिल्ला भित्रको प्रशासन कार्यालयलाई दिइएको छ । बेला–बेलामा अनुगमन भए पनि कारवाही नहुँदा कालोबजारी गर्नेको मनोबल तथा अखाद्य वस्तुको बिक्री वितरण बढ्ने गरेको छ । अनुगमनको क्रममा भेटिएका अखाद्य वस्तुहरु जफत गर्ने र मुचुल्का गरी जलाउने गर्दै आए पनि अबका दिनमा समान जफतसँगै परिणाम अनुसार दण्ड जरिवाना गर्नेदेखि पक्राउ गरी मुद्दा चलाउने सम्मको कारवाही गरिने तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले बताए ।

नजिकिदै गरेका चाडपर्वलाई लक्षित गरी तथा बर्षातको मौसमलाई मध्यनजर गरी होलसेल पसलहरुले ग्रामीण क्षेत्रमा अत्याधिक मात्रामा अखाद्य बस्तुहरु पठाएको अवस्था हुन सक्ने भएकाले सबै स्थानीयतहलाई बजार अनुगमन गर्न भनिएको जिल्ला प्रशासन कार्यालय पाल्पाकी प्रशासकीय अधिकृत रमा श्रेष्ठ बताइन् ।

प्रकाशित मिति: बुधबार, साउन ३, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update